अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौताका लागि तयार रहेको दाबी गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले मस्को सम्झौताका पक्षमा भए पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्ता प्रक्रिया अघि बढाउन अनिच्छुक देखिएको भन्दै उनको आलोचना गरेका छन् ।
राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहेको भए यो युद्ध धेरै पहिले नै समाधान भइसक्ने दाबी गरे । जेलेन्स्कीले आफ्नै मुलुकमा नयाँ निर्वाचन गराउनुपर्ने टिप्पणी गर्दै उनले युक्रेनी नेतृत्वकै हठका कारण युद्ध लम्बिएको आरोप लगाए ।
ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्यका लागि दृढ इच्छा देखाउँदै सम्झौताको पक्षमा उभिएका छन् । यो अभिव्यक्ति आउनुअघि ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन वार्ता भएको थियो । वार्तापछि ट्रम्पले रुसले संयुक्त राज्य अमेरिका तथा विश्व बजारमा सस्तो मूल्यमा डिजेल इन्धन आपूर्ति गर्ने समझदारी भएको घोषणा गरेका थिए ।
ट्रम्पले सस्तो मूल्यमा तेल उपलब्ध गराएर रुसले विश्वलाई राहत दिन खोजेको भन्दै पुटिनको कदमको प्रशंसा समेत गरे ।
यता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने ट्रम्प र पुटिनबीचको ऊर्जा सम्झौताप्रति तीव्र असन्तुष्टि व्यक्त गरे । थप ऊर्जा बिक्रीबाट संकलित आम्दानीले युक्रेनविरुद्धको रुसी सैन्य कारबाहीलाई थप आर्थिक बल पुग्ने चेतावनी जेलेन्स्कीले दिएका छन् ।
यसैबीच, द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहलहरू पनि तीव्र पारिएका छन् । अमेरिकी विशेष दूतहरू स्टिभ विटकफ र जेरेड कुश्नरले शुक्रबार मियामीमा युक्रेनी तथा युरोपेली प्रतिनिधिहरूसँग वार्ता गरेका छन् ।
तर अर्कोतर्फ, मस्कोले भने हालै रुसमा सम्पन्न संसदीय निर्वाचनका क्रममा युक्रेनले गरेको ड्रोन आक्रमणले तत्काल शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावनालाई कमजोर बनाएको बताएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।
