काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका २५९ जनाको शव चितवनमा फेला परेको छ। सुरक्षाकर्मीले नारायणी नदीको किनारबाट हालसम्म २५९ वटा शव संकलन गरेका हुन्।
बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार संकलित शवमध्ये हालसम्म ९ जनाको मात्रै पहिचान खुलेको छ। पहिचान भएका व्यक्तिमा दुई जना प्रहरी सहायक निरीक्षक (असई) समेत छन्।
पहिचान हुनेमा नुवाकोटका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल र रामेछापका प्रहरी सहायक निरीक्षक रामहरि खड्का रहेका छन्।
त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–११ का कविलाल चौधरी, रसुवाको उत्तरगया–१ बेत्रावतीका भुवन थापा मगर, मकवानपुरको हेटौँडा–१५ का रमेश मगर, नुवाकोट ककनीका अर्जुन बलामी, कोहलपुर–११ का रमेश थारु, नुवाकोट किस्पाङकी तेरिना गुरुङ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का पेमा सिंह शेर्पाको पनि सनाखत भएको छ।
प्रहरीका अनुसार परिवार तथा आफन्तले शव पहिचान गरेपछि उनीहरूको सनाखत भएको हो। अन्य शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
