काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावितमध्ये ७५ जना घाइते तथा बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढीपछि हालसम्म २४२ जना बिरामी तथा घाइतेलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईका अनुसार उपचार गराइएकामध्ये १३५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। बाढीका कारण हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये एक जनालाई अस्पताल पुर्याउने क्रममा नै मृत घोषणा गरिएको थियो।
काठमाडौं उपत्यकाबाहिरका स्वास्थ्य संस्थामध्ये रसुवा जिल्ला अस्पताल धुन्चेमा सबैभन्दा धेरै ७६ जना उपचारका लागि भर्ना भएका थिए। तीमध्ये २७ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने ४८ जना डिस्चार्ज भइसकेका छन्।
नुवाकोटस्थित त्रिशूली अस्पतालमा भर्ना भएका १८ जनामध्ये १४ जना उपचारपछि घर फर्किएका छन्। त्यस्तै, आयुर्वेद अस्पताल पिपलटारमा उपचारका लागि भर्ना भएका १६ जनामध्ये १४ जना अझै उपचाररत छन्।
उपत्यकाबाहिरका विभिन्न अस्पतालबाट थप उपचार आवश्यक भएका २९ जना घाइतेलाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकाका १३ वटा प्रमुख अस्पतालमा समेत बाढी प्रभावितको उपचार भइरहेको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ५४ जना र ट्रमा सेन्टरमा ४३ जना बिरामी भर्ना भएका छन्।
त्यस्तै, वीर अस्पताल, नेपाल एपीएफ अस्पताल बलम्बु, नर्भिक, ग्रान्डी, ह्याम्स, ग्रिनसिटी, शुभम इन्टरनेसनल हस्पिटल मनमैजु, मनमोहन, परोपकार प्रसूति गृह, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा वीरेन्द्र अस्पतालमा समेत बाढी प्रभावित घाइते तथा बिरामीको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
