रसुवा बाढीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल छः प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ताहरुको यकिन तथ्याङ्क नरहेको जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताएकी छन्। उहाँले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएकी छन्। उहाँका अनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्। महतका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्नेछ।
यसैबीच, विभिन्न हाइड्रोपावर आयोजना तथा सुरुङबाट उद्धार कार्य जारी रहेको छ। महतका अनुसार हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ। आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने सोमबार पनि उद्धार जारी रहेको उहाँको भनाइ छ। उहाँले लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी पनि अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको बताएकी छन्।
हालसम्म रसुवा बाढीमा परी ज्यान गुमाएका ९ सय ३ जनाको शव फेला परेको छ। १० हजार बढीको उद्धार गरिएको छ भने २६७ जना घाइते उपचारपछि घर फर्किएका छन्। सम्पर्कविहीनहरुको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ।
उहाँले भनेकी छन्, ‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर एक्ज्याक्ट पत्ता लगाउन अलिकति अप्ठ्यारो नै छ । हामीले त्यहाँको स्थानीय पालिका, सिडियो कार्यालयदेखि लिएर त्यहाँ हराउनुभएको विभिन्न आधिकारिक निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज, हाइड्रोबाट संख्याहरु लिने गरेका छौँ । त्यसमा हामीले करिब भन्ने गरेका छौँ किनभने मिसिङको सङ्ख्या अझै हामीलाई एक्ज्याक्ट थाहा छैन । व्यक्तिहरूको खोजी भइराखेको छ । केही अझै थप हुनुहोला र कति मिसिङ भएको छ, त्यो मिसिङमध्ये यति नै एक्ज्याक्ट मिसिङ हो भनेर हामीलाई अलिकति भन्न गाह्रो नै छ । हामीले भएसम्म अपडेट गर्ने कोशिस गरिराखेका छौँ । अहिले आधिकारिक निकायबाट प्राप्त भएका डेटालाई हामीले एक्युमुलेट गरेर ४ हजार २०२ भनेर तथ्यांक निकालेका छौँ । यो अपडेट फेरि घट्ने बढ्ने चाहीँ भइरहन्छ ।’
विपद्बाट अवरुद्ध सडक तथा सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा सुचारु भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता महतले वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको जानकारी दिएकी छन्। विपद्का कारण १० हजारभन्दा बढी पुल बगेका छन्। आवागमन पुनः सञ्चालनका लागि नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेलीब्रिज प्रयोग गरिने तथा चीन र भारतबाट थप बेलीब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको महतले जानकारी दिएकी छन्।
साथै क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका टावरहरू पनि लगभग सबै सुचारु भइसकेको उहाँको भनाइ छ। उहाँका अनुसार पुनः बाढी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै गल्छी र रसुवाको टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरिएको छ। ती स्टेसनबाट बाढीको रियलटाइम डेटा प्राप्त गर्न सकिने र थप स्थानमा पनि स्टेशन जडान गर्दै जाने तयारी रहेको उहाँले बताएकी छन्।
विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ। उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वय लगायतका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीवारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिएकी छन्। उहाँका अनुसार विशेषज्ञसहितको शव व्यवस्थापन टोली विभिन्न क्षेत्रमा परिचालित रहेको छ। शव व्यवस्थापन तथा संक्रमणको जोखिम न्यूनीकरणका विषयमा काम भइरहेको उहाँले बताएकी छन्।
