नेपाली काँग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद सुचारु गर्न आवश्यक रहेको बताएका छन्।
सोमवार बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन्। उहाँले बाढीपीडितहरुको व्यवस्थापन तथा पुनर्स्थापना लगायतका विषयमा छलफल गर्न संसद सुचारु गर्न आवश्यक रहेको बताएका छन्। नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ भन्ने अनुभूति गराउन संसद सञ्चालन आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले संसद सुचारु गरेर राहत वितरण, खोज तथा उद्धार, पुनःस्थापना र पुनर्संरचनालगायतका काम निष्पक्ष र प्रभावकारी ढंगले अघि बढाउन उच्चस्तरीय संयन्त्र गठन गर्न आग्रह गरेका छन्। संसद्मा विपत्तिसँग सम्बन्धित विषय उठ्ने र ती विषयका आधारमा सरकार समाधानतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
उहाँले भनेका छन्, ‘यो विपत्ति सरकारलाई मात्र आएको होइन, हामी सबैलाई आएको हो । त्यसैले यो विपत्तिमा एकजुट हुनुपर्ने स्थिति छ । तर त्यसको समन्वयकारी भूमिका मुख्यतः सरकारले नै गर्नुपर्छ । सरकारले यो बेलामा सदनलाई पनि सुचारु गर्नुहुन्छ भन्ने लागेको थियो । किनभने यो बेला जवाफदेहिता अत्यन्त धेरै चाहिएको छ । नागरिकलाई विश्वास चाहिएको छ । नागरिकमाथि तपाइँका सरकार छ भन्नेकुराको आभास चाहिएको छ । एकद्वार प्रणाली राहत वितरणको कुरा भएको छ । पुनःस्थापना कुराको कुरा भएको छ । सँगै तपाइँको अन्य जति पनि काम भइरहेको छ, त्यो निष्पक्ष ढंगबाट गर्नको लागि सरकारले पक्कै पनि उच्चस्तरीय समिति गठन गर्नेछ । सदनलाई पनि सुचारु गर्नेछ र सदनमा यस विषयमा तपाइँको थुप्रै कुराहरू उठ्नेछन्, ती उठेका कुराहरूलाई सरकार समाधानतिर लाग्नेछ भन्ने हामीलाई आशा छ, तर हामी परिपक्व पनि छौँ ।’
विपत्ति सरकारको मात्र नभई सबैको साझा समस्या भएकाले त्यसको सामना गर्न सबै राजनीतिक दल र पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ छ। त्यसका लागि नेतृत्वदायी र समन्वयकारी भूमिका सरकारले नै निर्वाह गर्नुपर्ने उहाँले बताएका छन्।
