काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरमार्फत आज भदौ १५ गते दिउँसो १ः३० बजेसम्म ३३० जनाको उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा करिब १५ मिटर भित्र प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको छ। यस्तै, त्रिशूली हाइड्रोको ३ ‘बी’ टनेलमा विज्ञ फौजसहित खोज तथा उद्धार कार्य जारी रहेको छ।
रसुवागढी हाइड्रोको टनेलमा समेत संयुक्त टोलीले खोज तथा उद्धार कार्य गरेको छ। टोली करिब २५० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी गर्दा मानिस फेला नपरेपछि फर्किएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। सेनाका टोलीहरू खोला, डाँडा तथा स्थानीयका घरघरमा पुगेर खोज तथा उद्धार कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइरहेका छन्।
सुरुङभित्र बेपत्ता व्यक्तिको खोजी तथा प्रभावित नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै नेपाली सेनाले आफ्नो परिचालनलाई थप तीव्र बनाएको छ।
