काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका छन्।
बिहीवार सार्वजनिक लेखा समितिको बैठकमा उनले यसअघि समितिले १५ दिनभित्र मागेका प्रहरी खरिदसम्बन्धी कागजात आए–नआएको जानकारी दिन सभापतिलाई आग्रह गरे। प्रहरीले पछिल्लो समय करोडौँ रुपैयाँका टेण्डर आह्वान गरेको भन्दै उनले खरिद प्रक्रियामाथि प्रश्न उठाए।
आफूले यसअघि उठाएका प्रश्नमा अडिग रहेको भन्दै सुनारले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए अदालत जान चुनौती दिए। उनले समितिमा सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने बताए।
भ्रष्टाचार छानबिनका लागि समितिमा प्रश्न गम्भीर, निर्मम र गहिरो हुनुपर्ने भन्दै उनले आफू समितिमा रहँदासम्म खरिद प्रक्रिया र भ्रष्टाचारका विषयमा कडा प्रश्न उठाइरहने बताए।
यसअघि समितिको बैठकमा प्रहरी पोशाक खरिद प्रक्रियामा अनियमितताको विषयलाई लिएर सांसद सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच विवाद भएको थियो। बिहीवारको बैठकमा सुनारले सोही विषयमा स्पष्टीकरण दिएका हुन्।
