संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउन आधुनिक प्रविधिसहितको ट्रयाकिङ प्रणाली लागू गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ।
बिहीवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले प्रत्येक ग्यास सिलिण्डरको ‘डिजिटल प्रोफाइल’ बनाएर उत्पत्ति, भरिएको मिति र अन्तिम परीक्षणसम्मको विवरण ट्रयाक गर्नुपर्ने बताए।
उनले व्यावसायिक र घरायसी प्रयोजनका सिलिण्डर छुट्याउन, सिलिण्डरको साइज र रंगमा समेत भिन्नता ल्याउनुपर्ने बताए। व्यावसायिक सिलिण्डरमा नाफा लिएर बिक्री गर्दा निगमको वित्तीय अवस्था सुधार हुने र घरायसी उपभोक्तालाई राहत दिन सकिने उनको भनाइ छ।
अन्सारीले नेपाल आयल निगमलाई एक वर्षभित्र ग्यास वितरण तथा व्यवस्थापनका समस्या समाधान गरी प्रणाली व्यवस्थित गर्न निर्देशन दिए। उनले आगामी १५ देखि २० वर्षसम्म एलपीजी ग्यासको आवश्यकता कायम रहने भन्दै प्रविधिको प्रयोगमार्फत ग्यास व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
