काठमाडौं । पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भूमिका महत्वपूर्ण बन्दै गएको बताए। उहाँले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र शेयर बजारको बजार पुँजीकरणबीचको अनुपातले पुँजी बजारको बढ्दो प्रभाव स्पष्ट पार्ने बताए।
नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजार : आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले हाल नेपालको कुल जीडीपी करिब ६० खर्ब रुपैयाँ रहेको र शेयर बजारको बजार पुँजीकरण करिब ४६ खर्ब रुपैयाँ पुगेको जानकारी दिए।
उनका अनुसार जीडीपी र बजार पुँजीकरणको तुलनामा नेपालको पुँजी बजारको आकार करिब ७७ प्रतिशत बराबर देखिन्छ।
घिमिरेले पुँजी बजारले मुलुकको अर्थतन्त्रका लागि आवश्यक दीर्घकालीन पुँजी उपलब्ध गराउनुका साथै सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराएर आर्थिक लोकतन्त्रलाई समेत बलियो बनाएको बताए।
बजार पुँजीकरणमा बैंकिङ क्षेत्रको हिस्सा ठूलो
घिमिरेका अनुसार नेपालको कुल बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ५१ प्रतिशत रहेको छ। त्यस्तै, जलविद्युत क्षेत्रको हिस्सा १६ प्रतिशत र अन्य क्षेत्रको हिस्सा ३३ प्रतिशत रहेको उनले जानकारी दिए।
विशेषगरी नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगतिमा पुँजी बजारको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ।
उनले कुनै समय नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने अवस्था रहे पनि अहिले करिब ४ हजार मेगावाट विद्युत उत्पादन गर्ने र करिब ६०० मेगावाट विद्युत निर्यात गर्न सक्ने अवस्थामा पुगेको बताए।
“यो परिवर्तन निजी क्षेत्रका कारण सम्भव भएको हो। निजी क्षेत्रको कुल विद्युत उत्पादनमा ८५ प्रतिशत हिस्सा रहेको छ,” घिमिरेले भने, “पुँजी बजारले सर्वसाधारणको लगानीलाई राष्ट्रिय पूर्वाधार निर्माणसँग जोड्ने काम गरेको छ।”
रोजगारी र राजस्वमा पनि योगदान
पुँजी बजार रोजगारी सिर्जना र राज्यको राजस्व संकलनको महत्वपूर्ण स्रोतका रूपमा समेत विकास भइरहेको घिमिरेले बताए।
गत आर्थिक वर्षको तथ्याङ्क प्रस्तुत गर्दै उनले पुँजी बजारबाट राज्यले मासिक औसत १ अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको जानकारी दिए। उनका अनुसार उक्त रकम मुलुकको कुल राजस्वको करिब १.५ प्रतिशत बराबर हुन्छ।
पुँजी बजारले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई अर्बौं रुपैयाँ कर तिर्दै आएको उल्लेख गर्दै घिमिरेले पुँजी बजारलाई देशको आर्थिक विकास र पूर्वाधार निर्माणको महत्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा जोड दिए।
