काठमाडौँ । रसुवामा आएको बाढीबाट भएको क्षति र उद्धार तथा राहतका कामबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिइएको थियो। बैठकमा प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने उद्धार, खोज तथा राहतका कामबारे समेत छलफल भएको छ।
प्रधानमन्त्री शाहले विपद्को समयमा सबै सम्बन्धित निकायलाई समन्वयात्मक रूपमा परिचालन हुन निर्देशन दिएका छन्। उनले बाढी प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यलाई प्राथमिकतामा राख्दै आ–आफ्नो जिम्मेवारीअनुसार तत्काल खटिन आग्रह गरेका छन्।
साथै, प्रभावित क्षेत्रका नागरिकको जीवन रक्षा तथा सम्भावित थप क्षति न्यूनीकरणका लागि आवश्यक सबै उपाय अपनाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री शाहले निर्देशन दिएका छन्।
