काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित नागरिकको ज्यान जोगाउन सरकारलाई आफ्नो सम्पूर्ण सामर्थ्य लगाउन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सभापति लामिछानेले कठिन घडीमा सरकार र आफ्नो पार्टी पीडित नागरिकको साथमा रहेको प्रतिबद्धता जनाएका छन्। त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन्।
बाढी तथा पहिरोको जानकारी प्राप्त भएलगत्तै आफूले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरकारी संयन्त्रसँग निरन्तर संवाद र समन्वय गरिरहेको उनले जानकारी दिएका छन्।
सरकारले रणनीतिक योजनासहित नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले अहिलेको अवस्थामा नागरिकको ज्यान जोगाउनु नै सबैभन्दा महत्वपूर्ण कार्य भएको बताएका छन्।
विपद्को समयमा सत्ता र प्रतिपक्षको घेराभन्दा माथि उठेर एकजुट हुन आवश्यक रहेको उनले बताएका छन्। संकटको घडीमा प्रतिपक्षी दलहरूले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै उनले धन्यवाद दिएका छन्।
उनले भने, “त्रिशूली क्षेत्रमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। यस कठिन घडीमा प्रभावित नागरिकसँग सिङ्गो रास्वपा र सरकार साथमा रहेको कुरा सम्मानित सदनलाई अवगत गराउन चाहन्छु। नागरिकको ज्यान बचाउनु अहिलेको पहिलो प्राथमिकता हो र सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य उद्धार तथा राहतमा लगाउनेछ भन्नेमा म प्रतिबद्ध छु।”
लामिछानेले रसुवा र धादिङका नदीतटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन, सुरक्षित स्थानमा जान, धैर्य धारण गर्न तथा सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरेका छन्।
साथै, चितवन, नवलपरासी लगायतका तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा आवश्यक स्रोतसाधन तत्काल परिचालन गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
