काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले मुलुकमा आएको प्राकृतिक विपद्को सामना गर्न राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ उद्धार तथा राहत कार्यमा जुट्न सरकार र सरोकारवाला पक्षसँग आग्रह गरेकी छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विकले हालैको अविरल वर्षाका कारण रसुवा, धादिङ, चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेकी छन्। उनले आवश्यक परे सांसदहरूलाई समेत उद्धार कार्यमा परिचालन गर्न आग्रह गरेकी छन्।
विपद्का कारण हजारौँ नागरिक बेपत्ता भएको, लाखौँ प्रभावित भएको र अर्बौँ रुपैयाँको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारले तदारुकताका साथ काम गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
सांसद विकले विगतमा जाजरकोटमा आएको बाढीपहिरोबाट विस्थापित परिवारले अझै उचित व्यवस्थापन नपाएको स्मरण गराउँदै वर्तमान विपद्का पीडितले पनि त्यस्तै नियति भोग्न नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
उद्धार तथा राहत कार्यमा सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले निजी क्षेत्रलाई समेत तत्काल परिचालन गर्न सुझाव दिएकी छन्। साथै, विगतका विपद्का समयमा सहयोग गरेका वैदेशिक तथा आन्तरिक सहयोगी निकायलाई पुनः सक्रियताका साथ राहत तथा उद्धारमा जुट्न उनले अपिल गरेकी छन्।
विपद्को संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत त्रास र भ्रम फैलाउने गतिविधिप्रति समेत उनले चिन्ता व्यक्त गरेकी छन्। नकारात्मक तथा भयावह सन्देशले नागरिकमा थप त्रास उत्पन्न गर्ने भन्दै उनले जिम्मेवार भएर तथ्यपूर्ण सूचना मात्र सम्प्रेषण गर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेकी छन्।
उनले भनिन्, “अहिलेको अवस्थामा नागरिकको जिउधनको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। सरकारले हामी सांसदहरूलाई पनि कुन रूपमा र कसरी परिचालन गर्न सक्छ, त्यसका लागि हामी तयार छौँ। हामीलाई पनि उद्धार कार्यमा खटाइयोस्।”
सांसद विकले प्राकृतिक प्रकोपले दिएको पीडामाथि एक–अर्काको घाउमा मलम लगाउने गरी मानवीय भावनाका साथ अघि बढ्न र नागरिकलाई हतोत्साहित पार्ने गतिविधि नगर्न सबैमा आग्रह गरेकी छन्।
