काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।
नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’सँगको अन्तर्वार्तामा राजदूत चाङले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको प्रारम्भिक सूचना प्राप्त भएको बताए।
उनका अनुसार भूकम्पपछि हिमपहिरो खसेको र त्यसलगत्तै लेदोसहितको ठूलो बाढी आएको थियो। उक्त प्राकृतिक विपद्का कारण केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति भएको तथा धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिए।
चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति चीनले गहिरो समवेदना प्रकट गरेको उल्लेख छ।
चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय निर्देशन
राजदूत चाङका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले रसुवा क्षेत्रमा भएको विपद्लाई उच्च प्राथमिकतामा राख्दै खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण निर्देशन दिएका छन्।
राष्ट्रपति सीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन, जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्न र घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको राजदूत चाङले बताए।
चीनले विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक समन्वय र सहयोगलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए।
