काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सबैभन्दा बढी प्रभावित टिमुरे क्षेत्रबाट नेपाली सेनाले बिहीबार बिहान ९८ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १५ जना विदेशी नागरिक रहेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले हेलिकप्टरमार्फत टिमुरे क्षेत्रबाट ९८ जनालाई सुरक्षित स्थानमा ल्याएको हो।
यसैगरी, रसुवाको उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकामा पर्ने निर्माणाधीन २१६ मेगावाट क्षमताको त्रिशूली–२ जलविद्युत् आयोजनाको मैलुङ टनेलबाट पनि ७ जनाको उद्धार गरिएको छ।
सेनाका अनुसार बिहीबार बिहान दुई छुट्टाछुट्टै स्थानबाट गरी कुल १०५ जनाको उद्धार गरिएको हो। बाढीका कारण जलविद्युत् आयोजनाको निर्माण क्षेत्रमा समेत प्रभाव परेको छ।
यसैबीच, अस्थायी प्रहरी चौकी मैलुङका इन्चार्ज प्रहरी नायब निरीक्षक मदन स्याङ्बोसहित पाँच जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। त्यहाँ कार्यरत तीन जना प्रहरी कर्मचारी भने सम्पर्कमा आएको बागमती प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले बताएका छन्।
सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले प्रयास जारी राखेको जनाएको छ।
