काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। हालसम्म १७७ जनाको शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्।
बाढीपछि नदी तटीय क्षेत्रमा खोज तथा उद्धारका क्रममा चितवनमा सबैभन्दा धेरै शव फेला परेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार चितवनमा मात्रै हालसम्म ५२ जनाको शव फेला परेको छ।
उनका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा गरी १०६ जनाको शव फेला परिसकेको छ। गण्डकी प्रदेशअन्तर्गत गोरखा र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्रमा पनि शव भेटिएका छन्। ती शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बाढीको मुख्य प्रभाव परेको रसुवामा हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, नुवाकोटमा १७ जना र धादिङमा २१ जनाको शव फेला परेको एसएसपी धमलाले जानकारी दिएका छन्।
प्रहरी तथा सुरक्षाकर्मीले प्रभावित क्षेत्रका नदी तटीय भागमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
