काठमाडौँ । सरकारले बाढी प्रभावित नागरिकको उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनाका लागि १२ वटा विशेष टोली गठन गरी परिचालन गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रत्येक टोलीका लागि संयोजक तथा फोकल पर्सन तोकिएको छ। टोलीहरूले प्रभावित क्षेत्रमा तत्काल आवश्यक कामको समन्वय गरी सेवा तथा सहायता पुर्याउनेछन्।
सञ्चार सेवा पुनःस्थापना टोली
सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा इमर्जेन्सी कम्युनिकेशन रेस्टोरेसन टिम गठन गरिएको छ। टोलीमा नेपाल दूरसञ्चार प्राधिकरणका विनोद श्रेष्ठ, नेपाल टेलिकमका मुनिष आचार्य, एनसेलका अश्विनराज जोशी, नेपाली सेनाका सविनप्रताप केसी तथा नेपाल प्रहरीका एसपी गोविन्द पुरी र सविन वाग्ले रहेका छन्।
टोलीले सञ्चार सेवा अवरुद्ध भएका स्थान पहिचान गरी तत्काल सञ्चार सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनेछ। साथै भिस्याटको व्यवस्थापन, आवश्यक उपकरण तथा सामग्रीको आपूर्ति र त्यससम्बन्धी समग्र समन्वय गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको छ।
विद्युत् पुनःस्थापना तथा ब्याकअप पावर टोली
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजकत्वमा विद्युत् पुनःस्थापना तथा ब्याकअप पावर टिम गठन गरिएको छ। टोलीमा नेपाल विद्युत् प्राधिकरणका मुनिन्द्र ठाकुर, नेपाल आयल निगमका राजकुमार केसी, नेपाल प्रहरीका कमल बेलवासे र गृह मन्त्रालयकी रिनु थपलिया रहेका छन्।
टोलीले विद्युत् आपूर्ति अवरुद्ध भएका स्थान पहिचान गरी तत्काल विद्युत् सेवा सञ्चालनको व्यवस्था मिलाउनेछ। विद्युत् पुनःस्थापना नहुँदासम्म अन्तरिम व्यवस्थाका लागि डिजेललगायत आवश्यक इन्धन तथा सामग्रीको व्यवस्था गर्नेछ।
त्यस्तै, प्रभावित क्षेत्रमा पोर्टेबल जेनेरेटर उपलब्ध गराउने तथा विद्युत् आपूर्ति पुनःस्थापनासम्बन्धी कामको समग्र समन्वय गर्ने जिम्मेवारी पनि यो टोलीलाई दिइएको छ।
सरकारले गठन गरेका अन्य टोलीले पनि उद्धार, उपचार, राहत, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति, यातायात तथा पूर्वाधार पुनःस्थापना र प्रभावित नागरिकको पुनःस्थापनासहितका क्षेत्रमा छुट्टाछुट्टै जिम्मेवारी सम्हाल्नेछन्।
