काठमाडौं । स्याफ्रुबेँसी, टिमुरे, बेत्रावतीलगायत भोटेकोशी बाढीले बगाएका स्थानहरू अहिले चित्कार र विलापको बगरमा परिणत भएका छन् ।
भदौ १० गते मध्यरातमा भोटेकोशीको मुहानबाट गर्जंदै झरेको कालो लेदो, ढुंगा र चट्टानसहितको भीषण बाढीले केरुङ, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ हुँदै बेत्रावतीसम्मका सयौँ वर्ष पुराना बस्तीहरूलाई केही मिनेटमै तहसनहस बनाएको छ । बाढीले कतिपय बस्ती र संरचनालाई सोहोरेर त्रिशूली नदीको गहिराइमा पुर्याएको छ ।
भदौ १० गते बिहान रसुवा र नुवाकोटका सीमावर्ती बासिन्दा नयाँ दिनको दिनचर्या सुरु गर्दै थिए । त्यही बेला हिमालको फेदीतर्फबाट ढुंगा र माटोको भीषण गडगडाहट सुनिन थाल्यो । सीमाक्षेत्र केरुङतर्फ हिमताल फुटेको वा पहिरोका कारण पानी थुनिएर अचानक बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।
भोटेकोशीको साँघुरो गल्छी हुँदै उर्लिएको बाढीले पानीको सतह अस्वाभाविक रूपमा माथि उठायो । खोला किनारका घरहरू तासका पत्ताझैँ ढले । सडक र पुलहरू क्षतविक्षत भए । कतिपयले आफ्नै आँखाअगाडि घर तथा छिमेकीका परिवारलाई बाढीले बगाएको देखे । न कसैलाई बचाउन गुहार माग्ने समय भयो, न सुरक्षित स्थानतर्फ भाग्ने अवसर ।
बेत्रावती बजारको ठूलो हिस्सा अहिले त्रिशूली नदीको बगरमा परिणत भएको छ ।
रसुवाको केरुङ नाका र रसुवागढी भन्सार क्षेत्रबाट सुरु भएको यो महाविपद्ले सडक सञ्जालमा ठूलो क्षति पुर्याएको छ । टिमुरे, तातोपानी, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रमा जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक, श्रमिक तथा स्थानीय व्यापारीसहित सयौँ व्यक्ति बाढीको पहिलो चपेटामा परेका छन् ।
मैलुङमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका क्याम्पहरू बाढीले बगाउँदा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् । बाढीले आयोजनाका संरचना, आवास तथा पहुँचमार्गमा समेत व्यापक क्षति पुर्याएको छ ।
बेत्रावतीमा फलाखु खोला र त्रिशूली नदीको संगमपछि बाढीले अझ विशाल रूप लिएको थियो । त्यसपछि नुवाकोटको त्रिशूली बजार, बट्टारको तल्लो भूभाग, देवीघाट, धादिङको गल्छी, मलेखु र जोगिमारासम्म बाढीले ठूलो क्षति पुर्याउँदै चितवनको मुग्लिन र देवघाटसम्म ताण्डव मच्चाएको छ ।
धादिङ र चितवनका नदी तटीय क्षेत्रमा लगाइएको धानबालीसहितका हजारौँ हेक्टर कृषि क्षेत्र बलौटे लेदोले पुरिएका छन् । बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक संरचना र कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
२०७२ सालको महाभूकम्पको पीडा भोगेका नेपालीका लागि नदीले यसरी सिंगो बस्ती र ठूलो संख्यामा मानिसलाई एकै निमेषमा बगाएको दृश्य झनै भयावह बनेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले हेलिकप्टर तथा डोरीको सहायताले जोखिमयुक्त क्षेत्रमा उद्धार प्रयास जारी राखेका छन् । तर कतिपय स्थानमा निरन्तरको वर्षा, बाक्लो कुहिरो तथा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएकाले माथिल्लो रसुवा पुगेर खोज तथा उद्धार सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।
अहिलेसम्म करिब ४ हजार नागरिक सम्पर्कविहीन रहेको बताइएको छ । यद्यपि बेपत्ताको यकिन तथ्यांक अझै सार्वजनिक भइसकेको छैन ।
नदी किनारमा आफ्ना आफन्तको खोजीमा उभिएका बालबालिका, वृद्धवृद्धा तथा परिवारजनका आँसुले विपद्को पीडा झन् गहिरो बनाएको छ । बाढीले बस्तीहरू मात्र होइन, सयौँ परिवारका सपना र भविष्यसमेत बगाएर लगेको छ ।
– न्युज एजेन्सी नेपाल
तस्बिरहरूः अनुप प्रधान–न्युज एजेन्सी नेपाल
