काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि राहत तथा उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् ।
निरन्तरको वर्षाका कारण सडक हिलाम्मे र चिप्लो बनेपछि राहत सामग्री प्रभावितसम्म पुर्याउन गम्भीर चुनौती खडा भएको हो । हाल रसुवाको नौकुण्ड गाउँपालिका–३ स्थित घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम लागेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीले मुख्य सडक मार्गका विभिन्न खण्ड बगाएपछि अहिले वैकल्पिक सडकमार्फत सवारी साधन सञ्चालन भइरहेका छन् ।
तर, वैकल्पिक सडकसमेत अत्यधिक हिलाम्मे, चिप्लो र जोखिमपूर्ण भएकाले राहत सामग्री तथा उद्धार टोली प्रभावित क्षेत्रमा पुर्याउन कठिनाइ भइरहेको छ ।
बाढी तथा पहिरोका कारण कतिपय स्थानमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा प्रभावित क्षेत्रसँग सम्पर्क कायम गर्न र समयमै राहत सामग्री पुर्याउन समस्या भएको छ । सडक अवरोधसँगै प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्यसमेत प्रभावित बनेको छ ।
– न्युज एजेन्सी नेपाल
