काठमाडौं । रसुवा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा अझै उल्लेखनीय प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली टोलीसँगै भारत र चीनबाट आएका सुरुङ उद्धार विशेषज्ञ टोली निरन्तर प्रयासरत रहे पनि हालसम्म ठोस प्रगति हुन नसकेको बताउनुभयो।
भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको ९ सदस्यीय विशेष सुरुङ उद्धार टोली चिलिमे, लाङटाङ र माथिल्लो त्रिशूली–३ ‘ए’ लगायतका आयोजनामा परिचालित छन्।
उहाँले भन्नुभयो, ‘टनेल रेस्क्युका लागि हाम्रो टोली पहिलेदेखि नै खटिइरहेको छ। भारत र चीनबाट आएका टनेल विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेका छन्। कठिन भौगोलिक अवस्थाका बाबजुद उहाँहरू दिनरात नभनी काम गरिरहनुभएको छ। तर केही बेरअघिसम्मको जानकारीअनुसार कुनै त्यस्तो प्रगति भएको छैन। उहाँहरू प्रयासरत नै हुनुहुन्छ।’
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ क्षेत्रमा खोजी गरिरहेको छ। दक्षिण कोरियाबाट समेत उद्धार टोली नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ।
बाढी गएको सात दिन बितिसक्दा पनि चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ लगायतका आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको उद्धार हुन सकेको छैन।
