प्रधानमन्त्री बालेन्द्र साहले १० भदौको भोटेकोशी बाढीमा परी टनेलमा फसेका नागरिकको उद्धारमा कठिनाइ भइरहेको बताए।
प्रतिनिधिसभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले टनेलभित्रसम्मै बाढी पसेका कारण टनेल खुलाउन समस्या भइरहेको बताए। उनले जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको बताए।
उनले बाढीबाट सडक तथा पुलमा व्यापक क्षति पुगेको समेत बताए। उनले बाढीका कारण गल्छी–बेत्रावती, रसुवागढी सडक तथा पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा ठूलो क्षति पुगेको बताए।
विदुर–बेत्रावती–मैलुङ खण्डको ४० किलोमिटर सडक पूर्ण रूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको उनले बताए। उनले बाढीबाट ४८ वटा झोलुङ्गे पुलमा क्षति पुगेकोमा २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको बताए।
उनले बाढी प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेको उल्लेख गर्दै तीमध्ये दुई स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु गरिएको बताए।
उनले भने, ‘जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढीका कारण गल्छी–बेत्रावती, रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डको अधिकांश भाग क्षति भएको छ। विदुर–बेत्रावती–मैलुङ खण्डको ४० किलोमिटर पूर्ण रूपमा र १६ किलोमिटर आंशिक क्षति भएको थियो। पृथ्वी राजमार्गको कृष्णभीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। धादिङका अधिकांश सडकमा लेदो हटाई सञ्चालन भइरहेको छ। बाढीका कारण ४८ वटा झोलुङ्गे पुलमा क्षति भएको छ। जसमध्ये २० वटा मर्मत गर्न मिल्ने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। प्रभावित क्षेत्रका ३१ वटा मोटरेबल पुल बगेका छन्। तीमध्ये दुई स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ।’
उनले सरकार बाढीपीडितको साथमा रहेको बताउँदै खोज, उद्धार र राहत वितरणमा सरकार गम्भीर रहेको समेत बताए।
