भोटेकोशी बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला परेको सरकारले बताएको छ।
परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार र राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै यस्तो स्पष्ट पारेको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधवार आयोजित दैनिक प्रेस ब्रिफिङमार्फत करिब ३ हजार ९ सय जना अझै बेपत्ता रहेको बताए। हालसम्म ११ हजार ९ सय ९३ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। बेपत्ता हुनेमा ३४ देशका ५९० विदेशी नागरिक रहेको प्रारम्भिक तथ्याङ्क छ।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोजी कार्यलाई उच्च प्राथमिकता दिइएको प्रवक्ता क्षेत्रीले बताए। नेपाली सेनाको नेतृत्वमा भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीहरू लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली र रसुवागढी क्षेत्रका सुरुङमा परिचालन भएका छन्।
लाङटाङ र चिलिमे क्षेत्रका सुरुङको केही भागमा खोजी गरिए पनि बाँकी खण्ड अवरुद्ध भएकाले कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। त्रिशूली–३ ए मा पानीको उच्च बहावका कारण उद्धार कठिन भएपछि सुरुङको बाहिरी भागबाट प्वाल पारेर खोजी गर्ने प्रयास भइरहेको छ। यस्तै, रसुवागढीको सुरुङभित्र करिब २०० मिटरसम्म खोजतलास गरिए पनि थप भाग पूर्ण रूपमा अवरुद्ध छ।
मृतकको पहिचानका लागि फरेन्सिक र डीएनए परीक्षण कार्यलाई तीव्र पारिएको छ। भारत र चीनका फरेन्सिक विज्ञहरूका साथै सिङ्गापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली नेपाल आइपुगेको छ। दक्षिण कोरियाली टोलीले पनि आधुनिक उपकरणसहित सहयोग गरिरहेको छ।
सरकारले लिडार, बेली ब्रिज, डीएनए परीक्षण किट र उच्च क्षमताका ड्रोनलगायतका सामग्रीका लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरेको छ।
प्रभावित क्षेत्रमा राहत सामग्रीको परिचालन प्रभावकारी रूपमा भइरहेको र थप सहयोग प्राप्त हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक आकलनअनुसार सडक, पुल, जलविद्युत् गृह र निजी आवासमा ठूलो क्षति पुगेको छ। पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गर्ने तयारी भइरहेको छ।
मानसरोवर र तिब्बत क्षेत्रबाट हालसम्म करिब २ हजार ५०० तीर्थयात्री र पर्यटक हिल्सा तथा तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। केरुङमा अझै १ हजार ५०० नेपाली नागरिक र १७६ वटा ट्रक तथा कन्टेनर रोकिएका छन्। उनीहरूलाई वैकल्पिक मार्गबाट फिर्ता ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए। चीनतर्फको सीमा क्षेत्रमा करिब १०० नेपाली नागरिक बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ।
मृतकको सङ्ख्या बढ्दै गएकाले आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरी शवहरूको अस्थायी अन्त्येष्टि सुरु गरिएको छ। पछि पहिचान खुलेपछि परिवारलाई हस्तान्तरण गर्न सहज हुने गरी यो प्रक्रिया अपनाइएको हो।
बेपत्ता भएका व्यक्तिका परिवारलाई डीएनए प्रोफाइलका लागि नेपाल प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।
