नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ।
संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक दाहालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। सुरुका दिनमा देखिएको तत्परता क्रमशः कमजोर हुँदै गएको उल्लेख गर्दै दाहालले उद्धारका प्रयासहरूले अपेक्षित नतिजा निकाल्न नसकेको बताउनुभयो। प्रधानमन्त्रीले संसद्मा प्रस्तुत गरेका कतिपय तथ्यहरू भ्रामक रहेको समेत दाहालले दाबी गर्नुभयो। उद्धारमा प्रयोग गरिएका उपकरण, प्राविधिक विज्ञता र सुरुङभित्रको वस्तुस्थितिका बारेमा प्रधानमन्त्रीले गलत जानकारी दिएको भन्दै सदनमा समेत सो विषयमा बहस भएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘मैले संसद्को रोस्टमबाटै पनि भनिसकेको छु, उद्धार कार्यमा सरकार सफल छैन। सुरुमा केही तत्परता देखिए पनि पछि यो फितलो हुँदै गयो। समग्रमा उद्धार कार्य मूलभूत रूपमा सफल हुन सकेन। प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्छ र सबै पक्षबीच सहकार्य तथा सहमतिको वातावरण निर्माण गर्ने मुख्य जिम्मेवारी उहाँकै हुन्छ। तर वर्तमान प्रधानमन्त्रीको कार्यशैलीमा त्यस्तो समन्वयकारी भूमिका देखिएन।’
प्रधानमन्त्रीको नेतृत्वदायी भूमिकामाथि प्रश्न उठाउँदै दाहालले सरकारले जिम्मेवारीपूर्ण ढंगले काम गर्न नसकेका कारण विपद्को समयमा नागरिकले सास्ती खेप्नुपरेको समेत बताउनुभयो।
