नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारले सबै पक्षसँग सहकार्य र संवाद गर्नुपर्नेमा जोड दिनुभएको छ।
संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले राहत वितरण र उद्धार कार्यमा सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको हो। सांसद केसीले राष्ट्रिय विपत्तिको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी सहमति र संवादमार्फत समाधान खोज्नुपर्ने बताउनुभयो। सरकारले राहत वितरणमा प्रभावकारिता देखाउन नसकेको उल्लेख गर्दै उहाँले त्रिशूलीपारि, रसुवालगायतका क्षेत्रमा अझै राहत पुग्न नसकेको दाबी गर्नुभयो। विशेषगरी सिमलताललगायतका क्षेत्रमा भएको दुर्घटना र सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले ढिलाइ गरेको उहाँको आरोप छ।
उहाँले भन्नुभयो, ‘अहिलेको यो राष्ट्रिय संकटमा हामी कोही सत्तापक्ष वा प्रतिपक्ष होइनौँ। विवादभन्दा संवाद र विमतिभन्दा सहमतिद्वारा बाटो खोज्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो। सुरुङमा समयमै विदेशी प्राविधिकहरूको सहयोग लिएको भए धेरै मानिसको ज्यान जोगाउन सकिने स्थिति हुन्थ्यो। यसमा सरकारको गम्भीर कमजोरी देखिएको छ। सरकारमा संवादको मानसिकता देखिएको छैन। एक्लै गर्न सकिन्छ भन्ने अहं त्यागेर विदेशी प्राविधिकको सहयोग लिने र सम्पूर्ण राजनीतिक दलहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो।’
बाढी र पहिरोको प्रकोपलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै उहाँले रसुवा र नुवाकोट क्षतविक्षत भएको तथा धादिङ, गोरखा र चितवनका केही भागमा समेत ठूलो क्षति पुगेको जानकारी दिनुभयो। सरकारले एक्लै सबै काम गर्न सकिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने सुझाव दिनुभयो।
