नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ताको परिचालनमार्फत राहत सङ्कलन तथा वितरण गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए पनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको छ ।
अध्यक्ष ओलीले राहत सरकारी कोषमा जम्मा गर्नुभन्दा पीडितलाई प्रत्यक्ष रूपमा आवश्यक सामग्री तथा सहयोग पुर्याउन प्राथमिकता दिइएको बताउनुभयो । उद्धार तथा राहतका कार्य सम्पन्न भएपछि अवस्थाअनुसार सरकारी कोषमा पनि सहयोग गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।
राहत रकम सरकारी कोषमा जम्मा गर्ने विषयमा स्पष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्याउने कार्यलाई प्राथमिकता दिएका छौँ ।’
हालको विषम परिस्थितिमा उद्धार र राहत वितरणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितको आवश्यकता सम्बोधन गर्न पार्टी दत्तचित्त भएर लागिपरेको बताउनुभयो ।
