काठमाडौं । भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा राहत तथा पुनःस्थापनाका काम तीव्र पारिएको छ। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल (एआईएन) ले सरकारसँगको समन्वयमा प्रभावित क्षेत्रमा मानवीय सहायता बढाएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको आपत्कालीन छलफलपछि एआईएनमा आबद्ध ३० संस्था प्रभावित क्षेत्रमा परिचालित भएका छन्।
एआईएनका अध्यक्ष सञ्जय कार्कीका अनुसार बाढी आएको दोस्रो दिनदेखि नै प्रभावितलाई खाद्यान्न, आश्रय सामग्री, कम्बल, हाइजिन किट तथा महिलाका लागि डिग्निटी किट वितरण भइरहेको छ। राहत दोहोरिन वा कुनै क्षेत्र छुट्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको आवश्यकता र निर्णयअनुसार संस्थाहरूलाई भूगोल विभाजन गरी परिचालन गरिएको उनले बताए।
एआईएनकी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभाग संयोजक डा. सम्झना विष्टका अनुसार प्रारम्भिक राहतसँगै अब मनोसामाजिक परामर्श, पुनःस्थापना र दीर्घकालीन आर्थिक पुनर्निर्माणका काम अघि बढाउने तयारी भइरहेको छ।
खाद्य सुरक्षा, स्वास्थ्य, महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैंगिक अल्पसंख्यकका आवश्यकतालाई प्राथमिकतामा राखेर राहत तथा संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको एआईएनले जनाएको छ।
