२१ भदौ, डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा खसेको सुख्खा पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा आएको छ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक बन्द हुँदा डोल्पाबाट बाहिरिने तथा जिल्लातर्फ भित्रिने सवारीसाधन छिप्रेदहमै रोकिएका थिए।
पहिरो हटाएर सडक खुलाइएपछि रोकिएका सवारीसाधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरो पन्छाएसँगै यातायात सेवा सामान्य बनेको डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।
