काठमाडौं । माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा सम्पर्कविहीन भएका कर्मचारी तथा श्रमिकको खोजी र उद्धारलाई प्राथमिकता दिन माग गर्दै आफन्तहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले बाढी गएको लामो समय बितिसक्दा पनि सरकारले त्रिशूली–३ बी मा प्रभावकारी खोजी तथा उद्धार गर्न नसकेको आरोप लगाएका छन्। उनीहरूले सरकारले आफैं खोजीमा चासो नदेखाएको र आफन्तलाई समेत घटनास्थलमा गएर खोजी गर्न नदिएको गुनासो गरेका छन्।
रसुवामा आएको बाढीपछि त्रिशूली–३ बी आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। बाढीले आयोजनाको संरचनामा ठूलो क्षति पुर्याएको छ।
सम्पर्कविहीनमध्ये वरिष्ठ भूगर्भविद् सुमेश अमात्यका आफन्तसमेत प्रदर्शनमा सहभागी भएका थिए। उनकी श्रीमती सुमना श्रेष्ठ अमात्यले सरकारले हेलिकप्टरलगायत आवश्यक उपकरण प्रयोग गरेर खोजी तथा उद्धारलाई तीव्रता दिनुपर्ने बताउनुभयो।
उहाँले सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी पहल नभएको गुनासो गर्दै उद्धारका लागि पर्याप्त उपकरण प्रयोग नगरेको आरोप लगाउनुभयो।
पीडित आफन्तहरूले सम्पर्कविहीनहरू जीवित भए जीवितै उद्धार गर्न र मृत्यु भएको अवस्थामा शव भए पनि पहिचान गरी परिवारलाई बुझाउन माग गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि तत्काल खोजी तथा उद्धार अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनकारीहरूले ‘त्रिशूली–३ बी लाई प्राथमिकता दिनुस्’, ‘१३ दिन भइसक्यो, उद्धारको सूचना खै ?’ र ‘उद्धार गर्न कठिन छ भन्दैमा उद्धार गर्न नहुने होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
— न्युज एजेन्सी नेपाल
