काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र शाखा कार्यालय बर्दिबास महोत्तरीको संयुक्त प्रहरी टोलीले धनुषाबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भारतको बिहारबाट लागूऔषध खैरो हेरोइन खरिद गरी मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यका २७ वर्षीय संजित कुमार राम र धनुषा शहिदनगर नगरपालिका–१० का २६ वर्षीय रोकेश राम रहेका छन्।
उनीहरूलाई भदौ २२ गते धनुषाको मिथिला नगरपालिका–२ बाट ११७।४४० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ। उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद भएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषा बुझाइएको प्रहरीले जनाएको छ।
