काठमाडौं । वागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न तथा खाद्यान्न र बसोवासको व्यवस्था गर्न बजेट तथा आवश्यक सामग्री उपलब्ध गराउने भएको छ।
सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद् व्यवस्थापन कोषमार्फत विस्थापित नागरिकका लागि आवश्यक बजेट र सामग्री उपलब्ध गराइने जानकारी दिनुभयो।
उहाँका अनुसार बाढीपछिको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट कार्यविभाजनसहित आपसी समन्वय गरेर काम भइरहेको छ। प्रदेश सरकारले प्रभावित नागरिकलाई सेल्टरमा ल्याउने, खाना खुवाउने तथा खोज, उद्धार र शव व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापाले बाढीका कारण विस्थापित भएका नागरिकका बालबालिकालाई प्रदेश सरकारले सञ्चालन गरेका आवासीय विद्यालयमा कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरिएको जानकारीसमेत दिनुभयो।
यस्तै, धादिङको कृष्णभीरमा पहिरो गएपछि काठमाडौंसँगको सडक सम्पर्क प्रभावित हुँदा ग्यास, खाद्यान्न तथा निर्माण सामग्रीको आपूर्तिमा समस्या देखिएको भन्दै वैकल्पिक सडक सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो।
ग्यास तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन कुलेखानी–भीमफेदी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो। कान्ति लोकपथमा गएको पहिरो हटाउने काम पनि संघ र प्रदेश सरकारले अघि बढाइरहेको उहाँको भनाइ छ।
