गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–८ नामरुङस्थित थेराङ खोला क्षेत्रमा आएको बाढीले दुई वटा पुल बगाएपछि मनास्लु पदमार्ग तथा लार्केपासतर्फको पदयात्रा तत्काल स्थगित गर्न आग्रह गरिएको छ।
आइतबार बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–२ र ४ जोड्ने फलामे पुल तथा बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको हो।
पुल बगेसँगै नामरुङ हुँदै मनास्लु पदमार्ग तथा लार्केपासतर्फ जाने यात्रुका लागि आवतजावत प्रभावित भएको छ। स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म मनास्लु वा लार्केपास पदयात्राको योजना बनाएका तथा यात्रामा रहेका पदयात्रीलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ।
यस्तै, बाढीका कारण प्रभावित क्षेत्रमा रहेका यात्रु तथा पर्यटकको उद्धार, समन्वय र आवश्यक सूचनाका लागि जिल्ला प्रहरी कार्यालय गोरखा, जिल्ला प्रशासन कार्यालय गोरखा तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ।
सम्बन्धित निकायले पदयात्रीको सुरक्षालाई प्राथमिकतामा राख्दै अवस्था सामान्य नभएसम्म जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।
