एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले मंगलवार इजिप्टको भूमध्यसागरीय तटमा अवस्थित अल अलामेन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अल अलामेन अन्तर्राष्ट्रिय एयर शो’ को दोस्रो संस्करणको औपचारिक उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहका अवसरमा राष्ट्रपति सिसी र साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडुलिडिसले विभिन्न प्रदर्शनी मण्डप ९प्याभिलियन० तथा खुला प्रदर्शनी क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
त्यसपछि उहाँहरूले इजिप्टियाली वायुसेना तथा विभिन्न विदेशी हवाई टोलीहरूद्वारा प्रश्तुत गरिएका रोमाञ्चक हवाई कलाबाजी एवं कौशलपूर्ण उडान प्रदर्शनको प्रत्यक्ष अवलोकन गर्नुभएको इजिप्टियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोजकको आधिकारिक वेबसाइटकाअनुसार मंगलवारदेखि बिहीवारसम्म तीन दिन सञ्चालन हुने यस अन्तर्राष्ट्रिय मेलामा विभिन्न अत्याधुनिक विमानहरूको प्रदर्शनी, प्रत्यक्ष उडान प्रदर्शन तथा एयरोस्पेस, रक्षा र अन्तरिक्ष प्रविधिसँग सम्बन्धित आधुनिक उत्पादन तथा सेवाहरूको वृहत प्रदर्शनी समावेश गरिएको छ । यस वर्षको एयर शोमा विश्वका ५० भन्दा बढी देशहरूबाट २५० भन्दा बढी प्रदर्शक कम्पनीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
तीन दिनको अवधिमा १०० भन्दा बढी विमानहरू प्रदर्शनमा राखिनेछन् भने ५० भन्दा बढी रोमाञ्चक हवाई उडान प्रदर्शनहरू आयोजना हुनेछन् । आयोजकका अनुसार यस भव्य अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरबाट करिव १२ हजार दर्शक तथा रक्षा विज्ञहरूको सहभागिता रहने अनुमान गरिएको छ ।
