काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित नगरिएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताए । उनले महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने पनि बताए । असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने उनको भनाइ छ । उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेर जिम्मेवारी पाउने नेतृत्वले जिम्मेवारी नपाउनेलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए । उनले महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको बताए । सभापति थापाले महाधिवेशनपछि नागरिकसँगको सम्बन्ध पुनःस्थापित गर्न देशव्यापी अभियान सञ्चालन गरिने समेत बताए ।
उनले भने, ‘असोज ४ गतेबाट हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ र १६ गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ र समयमा महाधिवेशन सम्पन्न गर्छौँ । महाधिवेशन सम्पन्न गर्नासाथै हामी देशभरि जानुपर्नेछ । ७७ जिल्ला पुग्छौँ, देशभरि जान्छौँ, गाउँगाउँ जान्छौँ । सबै साथीहरूले महाधिवेशनमा भाग लिनुहुन्छ । कोही साथीलाई महाधिवेशनबाट भाग लिने कुराबाट बञ्चित गरिएको छैन, सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ । महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा जसले जिम्मेवारी पाउनुहुन्छ, त्यो साथी नेतृत्वमा रहनुहुन्छ । जिम्मेवारीमा पार्टीभित्रको प्रतिस्पर्धा भएकोले प्रतिस्पर्धा गर्ने तर जिम्मेवारी नआउने साथीहरूलाई पनि समेटेर सबैलाई लिएर पार्टीलाई एकताबद्ध बनाएर त्यसपछि नागरिकहरूसँग जुन हाम्रो विश्वास टुटेको छ । अधिवेशनले त अहिले त पार्टीभित्रको कुरा मात्रै मिलाउँछ । नागरिकसँगको विश्वासलाई पुनःस्थापित गर्नुपर्नेछ, त्यो पुनःस्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ । दशैँको लगत्तै पछाडि यो महाधिवेशनको लगत्तै पछाडि चाडबाड छ, दशैँको लगत्तै पछाडिबाट हाम्रो देशभरिको यात्रा सुरु हुन्छ ।’
उनले पार्टीभित्र देखिएको समस्यामा मात्र अल्झिरहँदा नागरिकसँगको सम्बन्ध झनै कमजोर हुनेमा पार्टी गम्भीर रहेको पनि बताए ।
