काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकामा असुरक्षा तथा स्वास्थ्य जोखिम रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्णरूपमा विच्छेद भएको भन्दै तत्काल वैकल्पिक यातायात व्यवस्था गर्न पनि माग गरे ।
उनले बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्र आवतजावतको समस्या समाधान नहुने भन्दै कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न सरकारसँग आग्रह गरे ।
सांसद केसीले भने, ‘बाढीग्रस्त रसुवा तथा नुवाकोटका होल्डिङ सेन्टरमा रहेका पीडितहरू र त्यसमा पनि खास गरेर महिला, वृद्ध तथा बालबालिकाहरू अत्यन्त अप्ठ्यारो परिस्थितिमा छन् । उनीहरूलाई अझ बढी संरक्षण, सुरक्षा र व्यवस्थापनको आवश्यकता छ । पीडितहरूलाई यथाशीघ्र सुरक्षित र अस्थायी पुनःस्थापना मिलाउन सरकारसँग जोडदार माग गर्दछु ।
अहिले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आवतजावत पूर्ण रूपमा विच्छेद छ । बेत्रावतीदेखि गल्छीसम्म दुईवटा तुइनले मात्र पुग्दैन । कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न पनि म सरकारसँग माग गर्न चाहन्छु ।’
उनले खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन पनि माग गरे ।
