कलाकार जितु नेपालले काठमाडौं महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालले महानगरमा पार्किङको समस्या रहेको उल्लेख गर्दै ट्राफिक प्रहरीले गाडीमा लक लगाउने तथा पार्किङ व्यवस्थापनका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको बताए । उनले पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले थप सोच्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपालले महानगरलाई सफा राख्न महानगर प्रहरी तथा महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गरे । उनका अनुसार घरमै कुहिने फोहोरलाई व्यवस्थापन गरी मल बनाउन सकिन्छ । त्यसबाट गमलामा फूल तथा अन्य बिरुवा हुर्काउन सकिने र प्लास्टिक तथा बोतलजस्ता पुनःप्रयोग वा बिक्री गर्न मिल्ने सामग्री छुट्टै संकलन गर्दा फोहोरको मात्रा पनि घटाउन सकिन्छ ।
नेपालले घरको कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर फाल्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए । यसरी मिश्रित फोहोर राख्दा फोहोर संकलन गर्ने कर्मचारीलाई समेत काम गर्न कठिन हुने उनको भनाइ छ ।
उनले भने, ‘पार्किङको समस्या हामीलाई पनि छ । गाडी रोक्न मन हुँदैन, तर बाध्यता हुन्छ । ट्राफिक प्रहरीले लक लगाइदिने, गाडी उठाइदिने अवस्था आउँदा तनाव हुन्छ । त्यसैले पार्किङ व्यवस्थापनका विषयमा महानगरपालिकाले पनि सोच्न आवश्यक छ । आज कार्यक्रममा आएर वृत्तचित्र र विनोद दाइले बनाउनुभएको गीत हेर्दा महानगरपालिका वास्तवमै धेरै सफा भएको महसुस भयो । महानगरलाई सफा र व्यवस्थित बनाउन यहाँहरूको ठूलो योगदान छ । तर महानगर फोहोर बनाउने मुख्य जिम्मेवार हामी नागरिक पनि हौँ । घरबाट निस्कने कुहिने फोहोर घरमै व्यवस्थापन गरेर मल बनाउन सकिन्छ । प्लास्टिक, बोतललगायतका फोहोर छुट्टाछुट्टै राख्दा पुनः प्रयोग गर्न सकिन्छ । तर हामी सबै फोहोर एउटै ठाउँमा मिसाएर फाल्ने गर्छौं, जसले फोहोर व्यवस्थापनमा समस्या थप्छ । त्यसैले हामी नागरिक पनि सचेत हुनुपर्छ । नियम कडा हुनुपर्छ र सबैले नियमको पालना गर्नुपर्छ ।’
उनले महानगर सफा राख्न नागरिकको व्यवहारमा परिवर्तनसँगै नियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
