काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न तथा अन्य लक्षित वर्गका बिरामीलाई २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क उपलब्ध गराउने भएको छ।
महानगरपालिकाले कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)सँग सहकार्य गरी यस्तो उपचार सेवा सञ्चालन गर्न लागेको हो। सम्झौताअनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे अवस्थामा रहेका बिरामीले महानगरको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा निःशुल्क उपचार पाउनेछन्।
सेवा सञ्चालनका लागि महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ। उक्त रकममध्ये १ करोड रुपैयाँ जलन उपचार कोषका रूपमा राखिने व्यवस्था गरिएको छ।
महानगरका अनुसार आर्थिक अभावका कारण जलनको उपचारबाट वञ्चित हुन सक्ने लक्षित वर्गलाई राहत दिने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
