यमनको हुथी समूहले लाल सागर तटीय क्षेत्रमा तिब्र सैन्य अघि बढाइका क्रममा रणनीतिक बन्दरगाह सहर मोचा कब्जा गरेपछि सरकारी सुरक्षाबलको नियन्त्रणमा रहेका आफ्ना २१० सदस्यलाई रिहा गरेको जनाएको छ ।
हुथीका एक सैन्य अधिकारीका अनुसार दक्षिणपश्चिमी ताइज प्रान्तमा रहेको मोचा शहर बिहीवार कब्जा गरेपछि हुथी लडाकुहरूले सरकारी नियन्त्रणमा रहेको एउटा कारागारमा प्रवेश गरेका थिए । सरकारी सुरक्षाबल पछि हट्ने क्रममा सबै २१० बन्दीलाई एउटा ठूलो हलमा राखेर थुनेर गएको र हुथी लडाकुले कारागारमा प्रवेश गरी उनीहरूलाई मुक्त गरेको ती अधिकारीले बताएकाछन् ।
हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले शनिबार ती २१० जना बन्दी साना पुगेको पुष्टि गरेको छ । रिहा भएका एक हुथी बन्दी अबु खलिलले आफू एक वर्ष चार महिनादेखि कारागारमा रहेको बताउँदै रिहाइपछि खुसी व्यक्त गरेकाछन् ।
यमनी सरकारले भने रिहाइबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । यसअघि मे महिनामा जोर्डनमा संयुक्त राष्ट्रसंघको पहलमा भएको वार्तामा दुवै पक्षबीच करिव १,७५० बन्दी आदानप्रदान गर्ने सहमति भएको थियो । यो यमनमा द्वन्द्व शुरु भएयताकै सबैभन्दा ठूलो बन्दी आदानप्रदान सम्झौता भएपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
बन्दी रिहाइ हुथी समूहले सेप्टेम्बर ३ देखि लाल सागरको तटीय क्षेत्रमा सञ्चालन गरेको व्यापक सैन्य अभियान जारी रहेका बेला भएको हो । हुथीले मोचा र मयुन द्वीप कब्जा गर्नुका साथै दक्षिणतर्फ लाहज प्रान्ततर्फ अघि बढेका छन् । यससँगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको मुख्यालय रहेको एडेननजिकै पनि युद्धको जोखिम बढेको छ ।
यमनमा सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले राजधानी साना र उत्तरी यमनको ठूलो भूभाग कब्जा गरेपछि द्वन्द्व चर्किएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी अरब नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेको थियो ।
