टर्कीको दक्षिणी प्रान्त मेर्सिनमा गरिएको लागुऔषधविरुद्धको विशेष अभियानमा प्रहरीले करिब ३५० किलो कोकिन बरामद गरेको छ ।
टर्कीको गृह मन्त्रालयकाअनुसार इस्तानबुल र मेर्सिनका प्रान्तीय प्रहरी विभागले सुरक्षा महानिर्देशनालयअन्तर्गतको लागुऔषध नियन्त्रण विभागको समन्वयमा उक्त अभियान सञ्चालन गरेका हुन् । अभियानका क्रममा बरामद गरिएको कोकिनबारे थप अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा नौ जनाविरुद्ध लागुऔषध तथा उत्तेजक पदार्थ उत्पादन र ओसारपसार सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ ।
टर्की अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको मार्गका रूपमा समेत प्रयोग हुँदै आएको भन्दै त्यहाँका सुरक्षा निकायले लागूऔषध दुरुपयोग तथा तस्करी नियन्त्रणका लागि नियमित रूपमा विशेष अभियान सञ्चालन गर्दै आएका छन् ।
