हवाई पूर्वाधार विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको गुणस्तर र क्षतिपूर्तिको कानूनी प्रत्याभूति सुनिश्चित गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको छलफलमा सांसदहरूले यात्रुको समय, सुरक्षा र अधिकारलाई कानूनमै स्पष्ट गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले उडान रद्ध वा ढिलाइ हुँदा वैकल्पिक व्यवस्था र क्षतिपूर्ति, दुर्घटनामा घाइते वा मृत्यु भएमा उचित क्षतिपूर्ति तथा लगेज, मालसामान र तेस्रो पक्षको सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए । सांसदहरूले कानून निर्माणसँगै वायुसेवा कम्पनीको कडा नियमन, समयपालना र हवाई पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सम्भाव्यतालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे ।
नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले नेपालमा हवाई पूर्वाधार र सेवा विस्तार भइरहेकाले त्यसअनुसार यात्रुको सुरक्षा, सेवाको गुणस्तर तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताए । मंगलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा दंगालले हवाई क्षेत्रमा भएको विस्तारसँगै सम्भावित जोखिम व्यवस्थापन र वायुसेवा प्रदायकको जिम्मेवारीसमेत बढाउनुपर्ने बताए । उहाँकाअनुसार अहिले देशभर करिव ३५ वटा विमानस्थल सञ्चालनमा छन् भने आधा दर्जन विमानस्थल रात्रिकालीन उडानका लागि समेत सञ्चालन भइरहेका छन् । दर्जनौँ विमानस्थल पक्की अवस्थामा पुगेको र दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको समेत स्तरोन्नति भएको उनले बताए । हवाई क्षेत्रमा पूर्वाधार र सेवा विस्तारको तुलनामा यात्रु सुरक्षासम्बन्धी कानूनी व्यवस्था अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको दंगालको भनाइ छ । उनले यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्नुका साथै उडानका क्रममा चोटपटक लागेमा, मृत्यु वा अंगभंग भएमा क्षतिपूर्ति दिने व्यवस्था स्पष्ट हुनुपर्ने बताए । त्यस्तै, उडान रद्ध वा ढिलाइ हुँदा यात्रुले पाउने क्षतिपूर्तिको व्यवस्था पनि कानूनमै सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । दंगालले यात्रु मात्र नभई लगेज, मालसामान र तेस्रो पक्षको सुरक्षालाई समेत विधेयकले समेट्नु सकारात्मक भएको बताए । बीमासम्बन्धी व्यवस्थालाई समेत समेटेर यात्रु तथा अन्य पक्षको जोखिम सम्बोधन गर्न खोजिनु विधेयकको महत्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । यसअघि हवाई यात्रुको सुरक्षा, क्षतिपूर्ति र बीमासम्बन्धी विषय विभिन्न ऐन, कार्यविधि तथा कानूनी व्यवस्थामा छरिएर रहेको भएपनि यात्रु सुरक्षालाई केन्द्रमा राखेर छुट्टै कानूनी व्यवस्था आवश्यक रहेको दंगालले बताए । उनले हवाई सेवा विस्तारसँगै वायुसेवा सञ्चालक कम्पनी तथा सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउँदै यात्रुको अधिकार र सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । दंगालले आन्तरिक हवाई सेवाको दायित्व स्पष्ट पार्ने गरी आएको विधेयकले यात्रु, लगेज र तेस्रो पक्षको सुरक्षालाई समेटेकाले सकारात्मक रहेको बताए ।
उहाँले भने, ‘पछिल्लो समय हवाई क्षेत्रमा पनि उल्लेख्य विकास भएको छ । अहिले देशभर करिव ३५ वटा विमानस्थल सञ्चालनमा छन्, आधा दर्जनजति विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन भइरहेको छ र दर्जनौँ विमानस्थल पक्की अवस्थामा पुगेका छन् । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुनु पनि सकारात्मक उपलब्धि हो । विगतको अवस्थासँग तुलना गर्दा हवाई पूर्वाधार तथा सेवामा उल्लेख्य विस्तार भएको देखिन्छ । हेलिकप्टर सेवाको क्षेत्रमा पनि यस्तै विकास भएको छ । तर पूर्वाधार र सेवाको विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको नियमितता र गुणस्तर अभिवृद्धि तथा सम्भावित जोखिमको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले वायुसेवा सञ्चालक कम्पनी, सम्बन्धित निकाय तथा सेवा प्रदायक संस्थालाई अझ बढी जिम्मेवार बनाउँदै यात्रुको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ । यात्रालाई सुरक्षित र भरपर्दो बनाउनुका साथै दुर्घटनामा चोटपटक, मृत्यु वा अङ्गभङ्ग भएमा क्षतिपूर्ति दिने, उडान रद्द वा ढिलाइ हुँदा यात्रुको अधिकार सुनिश्चित गर्ने, यात्रुसँगै लगेज तथा मालसामान र तेस्रो पक्षको सुरक्षालाई समेत सम्बोधन गर्ने व्यवस्था आवश्यक छ । यस विषयमा केन्द्रित छुट्टै कानुनी व्यवस्था अहिलेसम्म पर्याप्त रूपमा आउन सकेको थिएन । यस विधेयकले यात्रुको सुरक्षा, तेस्रो पक्षको हित, लगेज तथा मालसामानको सुरक्षा र बीमासम्बन्धी विषयलाई समेत समेटेको हुँदा यो महत्वपूर्ण र सकारात्मक पहल हो । हवाई क्षेत्रको विस्तारसँगै यात्रुको अधिकार र सुरक्षालाई केन्द्रमा राख्ने यस प्रकारको कानूनी व्यवस्था समयसापेक्ष र आवश्यक छ ।’
नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा आन्तरिक हवाई सेवामा यात्रुको समयको मूल्यलाई बेवास्ता गर्ने प्रवृत्ति रहेको बताए । ढुंगानाले टिकट काटेर निर्धारित समयमा यात्रा गर्न खोज्दा उडान रद्ध वा ढिलाइ भए यात्रुलाई वैकल्पिक व्यवस्था नदिने प्रवृत्ति रहेको बताए । उनले अत्यावश्यक कामका लागि हवाई यात्रा रोज्ने यात्रुले उडान रद्ध हुँदा ठूलो समस्या व्यहोर्नुपर्ने बताए । वायुसेवा कम्पनीले उडान नहुने जानकारी दिएपछि यात्रुलाई अर्को दिनको टिकटसमेत नपाउने अवस्था आउने गरेको भन्दै उनले यात्रुको समयको मूल्यलाई कानूनले सम्बोधन गर्नुपर्ने बताए । उनले उडान रद्द वा निर्धारित समयमा हुन नसक्ने अवस्थामा यात्रुलाई वैकल्पिक रूपमा गन्तव्यसम्म पुर्याउने वा आवश्यक क्षतिपूर्ति दिने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए । ढुंगानाले नेपालको हवाई क्षेत्रको विकास अपेक्षाअनुसार हुन नसकेको भन्दै थाइल्याण्डसँग तुलना गर्दै मुलुकको हवाई क्षेत्रमा अझै सुधारको आवश्यकता रहेको बताए । उनले विमानस्थल निर्माणमा समेत राजनीतिक दबाब हावी हुने गरेको टिप्पणी गरे । आवश्यकता र सम्भाव्यता अध्ययनभन्दा राजनीतिक प्रभावका आधारमा कतिपय स्थानमा विमानस्थल निर्माण गरिएको उनको भनाइ छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको विषयमा समेत उनले प्रश्न उठाए । भैरहवा विमानस्थलबाट उडानका लागि भारतसँग जोडिएको सुरक्षा तथा हवाई मार्गसम्बन्धी विषय पहिलेदेखि नै चुनौतीका रूपमा रहेको आफूले जानकारी पाएको ढुंगानाले बताए । उनले विमानस्थल निर्माणअघि नै अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक हवाई मार्ग, सुरक्षा तथा छिमेकी मुलुकसँगको समन्वयलगायत विषय सुनिश्चित गर्नुपर्ने बताए ।
सांसद ढुंगानाले भने, ‘थाइ एयरलाइन्स र हाम्रो राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीको स्थापना करिव एक–दुई वर्षको मात्र फरकमा भएको हो। तर आज थाइ एयरलाइन्स कहाँ पुगिसकेको छ र हामी कहाँ छौँ भन्ने तुलना गर्दा हाम्रो आफ्नै अकर्मण्यता र कमजोरी पनि देखिन्छ । यस विषयमा हामीले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ । हाम्रो आन्तरिक हवाई सेवामा पनि यात्रुको समयको मूल्यलाई पर्याप्त महत्व दिइएको देखिँदैन । यात्रुले समयको महत्वका कारण बस वा निजी सवारीको विकल्प छाडेर विमानको टिकट काट्छ । तर समयमा उडान नहुने, उडान रद्ध हुने र अर्को दिन पनि उडान सुनिश्चित नहुने अवस्थाले यात्रुलाई ठूलो समस्या पर्ने गरेको छ । यस्तो अवस्थामा वायुसेवा कम्पनीले यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्यसम्म पुर्याउने वा उचित क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्छ । यात्रुको समयको मूल्यलाई पनि सेवाको गुणस्तरको महत्वपूर्ण आधारका रूपमा लिन आवश्यक छ । अर्को विषय विमानस्थल निर्माणसँग सम्बन्धित छ । कतिपय स्थानमा आवश्यकताभन्दा पनि राजनीतिक दबाब र प्रभावका आधारमा विमानस्थल निर्माण गर्ने प्रवृत्ति देखिएको छ । यसले राज्यको स्रोतको प्रभावकारी उपयोगमा प्रश्न उठाएको छ । त्यसैले विमानस्थल निर्माण गर्दा प्राविधिक सम्भाव्यता, यात्रुको आवश्यकता, आर्थिक औचित्य र दीर्घकालीन सञ्चालन क्षमतालाई आधार बनाउनुपर्छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु सकारात्मक उपलब्धि हो। तर विमानस्थल निर्माणसँगै यसको नियमित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्न पनि उत्तिकै आवश्यक छ । विशेषगरी भैरहवा विमानस्थलको सञ्चालनमा छिमेकी मुलुकसँग जोडिएका हवाई मार्ग तथा सुरक्षा सम्बन्धी विषयहरू समेत रहेका छन् । यी विषयलाई कूटनीतिक तथा प्राविधिक माध्यमबाट समाधान गर्दै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक छ ।’
नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कुप्रसाद सुवेदीले नेपालमा आन्तरिक हवाई सेवा अझै सुरक्षित र भरपर्दो बन्न नसकेको भन्दै तत्काल सुधार र प्रभावकारी नियमन गर्न सरकारसँग माग गरे । सुवेदीले हवाई दुर्घटना भएपछि लामो समयसम्म यात्रुमा विमान चढ्न डराउने अवस्था रहेको बताए । उनले नेपालमा आन्तरिक हवाई सेवाप्रति यात्रुको विश्वास कमजोर रहेको उल्लेख गर्दै विमान दुर्घटनाले समग्र हवाई यात्रामाथि नै नकारात्मक प्रभाव पार्ने गरेको बताए । सुवेदीले आन्तरिक उडानमा यात्रुको संख्या कम हुनु र विमानका सिट पूर्ण क्षमतामा प्रयोग नहुनु पनि चिन्ताको विषय रहेको बताए । आफू पटक–पटक भैरहवा र नेपालगञ्ज जाने गरेको उल्लेख गर्दै उनले यात्रुले विमानस्थलमा लामो समय कुर्नुपर्ने तथा उडानसम्बन्धी अनिश्चितता व्यहोर्नुपरेको गुनासो गरे । उनले हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीलाई समयपालना, यात्रुको सुविधा तथा सुरक्षाका विषयमा थप जिम्मेवार बनाउनुपर्ने बताए । सुवेदीले विदेशमा आन्तरिक हवाई सेवा ठूलो संख्यामा यात्रुले प्रयोग गर्ने भएपनि नेपालमा भने पर्याप्त यात्रु आकर्षित हुन नसकेको तुलना गरे । हवाई सेवा सुरक्षित, भरपर्दो र समयमै सञ्चालन हुने वातावरण बनाउन सके आन्तरिक यात्रुको संख्या बढ्न सक्ने उनको भनाइ छ ।
उहाँले भने, ‘अहिलेसम्म नेपालको आन्तरिक हवाई सेवा पूर्ण रूपमा सुरक्षित र भरपर्दो बन्न सकेको छैन । कुनै दुर्घटना भएपछि लामो समयसम्म यात्रुहरू विमान चढ्न डराउने अवस्था छ । यसले हाम्रो हवाई सेवाप्रतिको विश्वासमा समेत असर गरेको देखिन्छ । विदेश यात्रा गर्दा हामीलाई सुरक्षाको चिन्ता हुन्छ । तर अन्य देशका आन्तरिक उडानमा यात्रुको चाप अत्यधिक हुन्छ र अधिकांश उडान पूर्ण क्षमतामा सञ्चालन हुन्छन् । हाम्रो अवस्था भने फरक छ । आन्तरिक उडानमा धेरैपटक ७५ प्रतिशत सिटसमेत भरिन नसकेको अवस्था देखिन्छ । म आफैँ प्रायः भैरहवा र नेपालगञ्ज जाने गर्छु । ती विमानस्थलमा पनि यात्रुहरूले लामो समय प्रतीक्षा गर्नुपर्ने, उडान अनिश्चित हुने र समयमै सेवा नपाउने समस्या देखिन्छ । त्यसैले, कानून बनाएर मात्र पुग्दैन । कानुनको प्रभावकारी कार्यान्वयन र सेवा प्रदायक निकायमाथि निरन्तर निगरानी तथा खबरदारी पनि आवश्यक छ । यात्रुको सुरक्षा, समयको मूल्य र हवाई सेवाप्रतिको विश्वास कायम गर्न सरकारले सम्बन्धित निकायलाई यथाशीघ्र तदारुकताका साथ जिम्मेवार बनाउन आवश्यक छ ।’
उनले प्रश्तावित विधेयकले कानूनी आधार तयार गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायले तत्कालै वायुसेवा कम्पनीको निगरानी तथा नियमन कडा बनाउनुपर्ने बताए । आन्तरिक हवाई सेवामा यात्रुको सुरक्षा, समयपालना र सेवाको गुणस्तर सुधार गर्न सरकार गम्भीर हुनुपर्ने सांसद सुवेदीको जोड छ ।
