सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालिएको बताएका छन्।
बुधवार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुभारम्भ कार्यक्रममा उनले संघीय संसदलाई प्रविधिमैत्री बनाउँदै नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी गरिएको बताए।
उनले आगामी ५ सय वर्षपछि पनि नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य रहेको बताए। संसदका बैठकमा सांसदहरूले व्यक्त गरेका अडियो तथा भिडियो सामग्रीसमेत सुरक्षित अभिलेखका रूपमा राखिने उनले जानकारी दिए।
संघीय संसदसँगै कार्यपालिका, न्यायपालिका तथा संघ, प्रदेश र स्थानीय सरकारका सेवा प्रवाहलाई समेत नागरिकमुखी र प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए। नागरिकको राज्य, नेतृत्व, कर्मचारी र सञ्चारमाध्यमप्रतिको विश्वास थप मजबुत बनाउने उद्देश्यले डिजिटल रूपान्तरणलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।
अर्यालले भने, ‘सयौँ वर्ष पछाडि पनि विगतका इतिहास हामीले कति समेट्न सक्छौँ भन्ने उद्देश्यसहित नेपालको संसदीय इतिहासका पुराना डाटा खोजिरहेका छौँ। भेटिएसम्मका डाटा डिजिटलाइज गरेर यसैमा समेट्ने प्रयास गर्नेछौँ। आगामी दिनमा हाम्रा सबै कार्यक्रमलाई यसमा समेटेर राखेर अबको ५ सय वर्षपछि पनि नेपालको इतिहास भेट्न र खोज्न सकियोस्। नेपालको संसदीय इतिहासका लागि यो दूरगामी पहल हो। यो हाम्रो चाहना होइन, आजको आवश्यकता हो।’
हाल सञ्चालनमा ल्याइएको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण चरणमा रहेकाले त्रुटि वा अपूर्णता हुन सक्ने उनले बताए। प्रयोगकर्ताबाट प्राप्त सुझावका आधारमा प्रणालीलाई थप युजर–फ्रेण्डली, छिटो र सहज बनाइने उनले जानकारी दिए।
संविधान, कानुन तथा सार्वजनिक गर्न मिल्ने विषयको अध्ययनपछि प्राप्त सामग्री सार्वजनिक गर्ने व्यवस्था गरिएको उनले बताए। साथै, प्रणालीलाई अपाङ्गतामैत्री तथा सबै नागरिकको पहुँचमा पुग्ने गरी विकास गर्ने लक्ष्य रहेको उनले बताए।
