नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले बाढीपहिरोबाट प्रभावित बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले स्पष्ट योजना ल्याउन माग गरेकी छन्।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै गैरेले बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति भएको र जोखिमयुक्त क्षेत्रमा कार्यरत प्राविधिकसमेत बेपत्ता भएको बताइन्। बाढीको असर चितवनसम्म पुगेको भन्दै उनले क्षतिको यकिन विवरण संकलन गर्नसमेत कठिन भइरहेको बताइन्।
बाढीपहिरोका कारण धेरै बालबालिका अभिभावकविहीन र वृद्धवृद्धा असहाय अवस्थामा पुगेको उल्लेख गर्दै गैरेले उनीहरूको दीर्घकालीन हेरचाह, संरक्षण र पुनर्स्थापनाका लागि सरकारले छुट्टै योजना बनाउनुपर्ने बताइन्।
प्रभावितका लागि स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै उनले प्राप्त राहत तथा सहयोग वास्तविक पीडितसम्म पारदर्शी र व्यवस्थित रूपमा पुर्याउनुपर्नेमा जोड दिइन्। सहयोग कहाँ र कसरी वितरण भइरहेको छ भन्नेबारे यथार्थ विवरण सार्वजनिक गर्नसमेत उनले माग गरिन्।
गैरेले राहत तथा सहयोगमा कुनै राजनीतिक वा व्यक्तिगत स्वामित्वको दाबी गर्न नहुने बताउँदै बाढीपहिरोबाट भएको भौतिक पूर्वाधारको क्षतिले विगतको विकास निर्माण र पूर्वाधारको अवस्थामाथि समेत प्रश्न उठाएको बताइन्।
