नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै विपद्का बेला राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सरकारलाई आग्रह गरेका छन्।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्र बनाउन तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे।
विपद्को समयमा सरकार सबै राजनीतिक दल र नागरिकको साझा अभिभावक बन्नुपर्नेमा पक्ष–प्रतिपक्ष छुट्याउनेतर्फ केन्द्रित भएको उनले आरोप लगाए। २०७२ सालको भूकम्पको उदाहरण दिँदै भट्टले त्यतिबेला राजनीतिक दलभन्दा माथि उठेर सरकार, विदेशी कूटनीतिक नियोग तथा विशेषज्ञको सहयोगमा उद्धार र राहतका काम अघि बढाइएको स्मरण गरे।
विपद्का बेला राजनीतिक स्वार्थ र दलीय विभाजनभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने भन्दै उनले भोटेकोशीमा बेपत्ता व्यक्ति आफ्नै परिवारका सदस्य भएको भए सरकारको प्रतिक्रिया कस्तो हुन्थ्यो भन्ने प्रश्न गरे। पीडितको ठाउँमा आफूलाई राखेर सोच्नसमेत उनले सरकारलाई आग्रह गरे।
भट्टले विपद्जस्तो संवेदनशील विषयमा मन्त्री तथा सत्तापक्षका नेताहरूबाट असंवेदनशील अभिव्यक्ति आउन नहुने भन्दै त्यस्ता अभिव्यक्तिप्रति समेत आपत्ति जनाए।
