नेपाली कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई विकासका काममा प्राथमिकताका साथ मूलप्रवाहीकरण गर्न सरकारसँग माग गरेकी छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्यालले मधेसको समन्यायिक, आधुनिक तथा गतिशील सामाजिक, आर्थिक र राजनीतिक विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।
उनले जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक ‘वन्दे भारत’ रेल सेवा सञ्चालन गर्नुपर्ने मागसमेत गरिन् । यसबाट जनकपुर र अयोध्याबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै दिल्लीबाट नेपाल आउने पर्यटक तथा तीर्थयात्रीलाई समेत सहज हुने उनको भनाइ छ ।
अर्यालले भारत सरकारका सम्बन्धित पक्षसँग यस विषयमा छलफल गर्दा उनीहरू पनि रेल सेवा सञ्चालनप्रति उत्सुक रहेको आफूले पाएको बताइन् ।
सांसद अर्यालले देशको सबै श्रमशक्तिलाई उत्पादनमूलक रोजगारी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । साथै, उच्च गतिमा पुँजी निर्माण गर्ने नीति तथा कार्यक्रम आवश्यक रहेको उनले बताइन् ।
उनले मधेसको विकासका लागि संघ, प्रदेश र स्थानीय तह सबै सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउँदै विकासका कामलाई शीघ्र र द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् ।
उनले भनिन्, ‘महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई प्राथमिकताका साथ विकासको मूलधारमा ल्याउन आवश्यक छ । जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक वन्दे भारत रेल सेवा सञ्चालनका लागि पहल गर्नुपर्छ । यसले जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै धार्मिक पर्यटन र आवागमनलाई सहज बनाउनेछ ।
साथै, सबै श्रमशक्तिका लागि उत्पादनमूलक रोजगारी र तीव्र पुँजी निर्माणका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यी कार्यहरू शीघ्र अघि बढाउन सके मात्र मधेसमा समन्यायिक, आधुनिक र गतिशील सामाजिक–आर्थिक व्यवस्था निर्माण गर्न सकिन्छ । यसका लागि सबै तहका सरकारसँग आग्रह गर्दछु ।’
उनले मधेसको समग्र विकासका लागि आफूले उठाएका मागलाई संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारहरूले समेत प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
