वातावरण विज्ञ प्रा. डा. छत्रमणि शर्माले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायु परिवर्तनको बढी असर भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग ‘क्लाइमेट जस्टिस’ माग गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका प्रमुखसमेत रहेका शर्माले यस्तो बताएका हुन् ।
उनले जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्कले हिमाली क्षेत्रमा यसले गम्भीर असर परिरहेको तथ्य स्थापित गरिसकेको बताए । उनले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीसमेत जलवायु परिवर्तनको असरका कारण भएको कुरामा दुईमत नरहेको बताए ।
जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देखिन थालेको भन्दै यसलाई भविष्यमा निम्तिन सक्ने खतराका रूपमा मात्र हेर्न नहुने उनले बताए । शर्माले जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया भए पनि पछिल्लो समय यसको गति तीव्र भएकाले त्यससँग अनुकूलन गर्न कठिनाइ भइरहेको बताए ।
हजारौँ वर्षमा हुने परिवर्तन ५० वर्षमै हुँदा विश्वजगत् यससँग अनुकूलन हुन नसकेको उनको भनाइ छ । उनले औद्योगिकीकरणपछि मानवीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन बढेकाले जलवायु परिवर्तनको प्रभाव तीव्र बनेको बताए ।
विश्वका सबै देशले समान मात्रामा हरितगृह ग्यास उत्सर्जन नगरे पनि त्यसको असर समान रूपमा भोगिरहेको उनले बताए ।
उनले भने, ‘जलवायु परिवर्तनको असर भविष्यमा पर्छ भनेर हामी सचेत मात्र हुने अवस्था छैन । जलवायु परिवर्तनका कारण विपत्तिहरू देखिन थालिसकेका छन् । आईपीसीसीले नै काम गर्न थालेको सन् १९८८ देखि हो । तथ्याङ्क संकलन गरेर जलवायु परिवर्तन भइरहेको छ र यसले विभिन्न प्राकृतिक वितण्डा मच्चाइरहेको छ भन्ने कुरा स्थापित भइसकेको छ ।
२१औँ शताब्दी सकिँदा यस्तो हुन्छ भन्ने कुरा त छँदैछ । तर यो कुरा आजको वास्तविकता नै भइसकेको छ । जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देखिइसकेको छ । हिमालयमा हामीले नै देखिसकेका छौँ । कतिपय कुरालाई भदौ १० गतेको रसुवाको भोटेकोशी बाढीसँग पनि जोड्न सकिन्छ ।
क्लाइमेट चेन्ज प्राकृतिक प्रक्रिया हो । यस्ता ग्लेसियर हजारौँ वर्ष पहिले पनि पग्लिएका थिए भन्ने हुन्छ । त्यो हामी सबैले मान्छौँ । तर अहिलेको वास्तविक कुरा के हो भने हजारौँ वर्षमा हुने परिवर्तन ५० वर्ष वा सय वर्षमा भयो भने हामी अनुकूलन हुन सक्दैनौँ । अहिलेको समस्या त्यही हो ।
त्यसकारण यो क्लाइमेट चेन्जको प्रभाव हाम्रो कारणले भएको हो । विश्वभर औद्योगिकीकरणपछि भएका मानवीय क्रियाकलापले हरितगृह ग्यास उत्सर्जन बढाइरहेका छन् । त्यही कारण जलवायु परिवर्तनको असर धेरै पर्न थालेको हो भन्ने कुरा स्पष्ट छ ।
अर्को कुरा के छ भने हामी सबैले समान रूपमा हरितगृह ग्यास उत्पादन गरेका छैनौँ । हरितगृह ग्यास उत्पादन गर्ने देश र यसको असर खेप्नुपर्ने देशहरू समान रूपमा बाँडिएका छैनन् । मैले बढी हरितगृह ग्यास उत्पादन गरेको छु भने मैले नै बढी समस्या भोग्नुपर्ने छैन । मैले एकदम कम उत्पादन गरेको छु, म एकदमै सुरक्षित छु भनेर भन्न पाउने अवस्था पनि छैन ।
त्यसकारण हरितगृह ग्यासको कम उत्पादन गरिरहेका तर यसको असर भोगिरहेका देशहरूलाई क्लाइमेट जस्टिस दिनुपर्छ । कुन रूपमा दिने भन्ने मेकानिजमको कुरा होला, तर हामीले यो दाबी गर्नुपर्छ ।’
बाइट: प्रा. डा. छत्रमणि शर्मा, वातावरण विज्ञ तथा विभागीय प्रमुख, त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभाग
उनले नेपालको हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण हिमालहरू जोखिममा परेको बताए ।
