नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निष्कर्ष निकालेको हो। पार्टीको केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गर्दै कार्यदलको प्रतिवेदनलाई सोही समितिमा लैजाने निर्णय पनि गरेको छ।
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटीका लागि आवश्यक एजेण्डाको सूची तयार पारेको छ। उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषय समावेश छन्।
पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयबारे उपमहासचिव भट्टले कार्यदलको काम सकिएको र प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय कमिटीमा लैजाने प्रक्रिया सुरु भएको बताए।
उनले कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको र प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत गरिने बताए।
पार्टी अध्यक्षको रिजर्भेसन (विमति) का बारेमा सोधिएको प्रश्नमा भट्टले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनजस्ता विषयमा पहिले नै सहमति भइसकेको र अहिले त्यसमा कुनै विवाद नरहेको स्पष्ट पारे।
२९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको सन्दर्भमा उनले अब त्यसमा थप बहसको आवश्यकता नरहेको संकेत गरे। केन्द्रीय कमिटीमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आवाज उठाउने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले बैठकको थप प्रक्रिया र त्यहाँ हुने बहसका आधारमा नै आगामी रणनीति तय हुने बताए।
