टर्कीले साउदी अरबमाथि भएका पछिल्ला सैन्य आक्रमणको प्रतिक्रियास्वरूप मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता पूरा गर्ने र आवश्यक परे साउदी अरबलाई प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ।
टर्कीका विदेशमन्त्री हाकान फिदानले शनिबार टर्कीको एनटीभीसँग कुरा गर्दै सम्झौतामा सहभागी देशहरूले साउदी अरबमाथि हुथी समूहबाट भइरहेका आक्रमणलाई नजिकबाट नियालिरहेको बताएका छन्। उनले सम्झौतामा सहभागी देशहरू यस विषयमा एकताबद्ध रहेको र सम्झौतामा उल्लेख गरिएका प्रावधानअनुसार टर्कीले आफ्नो प्रतिबद्धता पूरा गर्ने बताए।
फिदानका अनुसार साउदी अरबलाई आवश्यक पर्ने सैन्य सहयोग मुख्यतः विशेष प्राविधिक विषयमा केन्द्रित हुनसक्ने र टर्कीले त्यस्तो आवश्यकता पूरा गर्न सक्नेछ।
मक्का संयुक्त रक्षा सम्झौताको कार्यान्वयन सुस्त गतिमा भइरहेको भन्ने दाबीलाई फिदानले अस्वीकार गरे। उनका अनुसार यो गठबन्धन क्षेत्रका अन्य देशहरूका लागि पनि खुला रहेको र यसले क्षेत्रीय सुरक्षामा ठूलो परिवर्तन ल्याउने मञ्चका रूपमा काम गर्नेछ।
मक्का संयुक्त रक्षा सम्झौतामा गत अगस्ट ७ मा साउदी अरबको मक्का शहरमा साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार सहभागी कुनै एक देशमाथि भएको आक्रमण सबै सहभागी देशमाथिको आक्रमण मानिनेछ। साउदी अरब र यमनको हुथी समूहबीच पछिल्ला महिनाहरूमा तनाव बढ्दै गएको छ। दुवै पक्षले एकअर्काविरुद्ध पटक–पटक आक्रमण गर्दै आएका छन्।
यही पृष्ठभूमिमा साउदी अरबको सुरक्षाका लागि आवश्यक सहयोगबारे टर्कीले आफ्नो प्रतिबद्धता दोहोर्याएको हो।
