नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी र स्थानीय आवश्यकतामा आधारित बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति अशोककुमार चौधरीले यस्तो निर्देशन दिएका हुन् । उनले अनुसन्धान नतिजाको प्रभावकारी उपयोग र प्रविधि हस्तान्तरणका लागि नीतिगत पहल गरिने बताए ।
समितिको बैठकमा नार्क मातहतका अनुसन्धान निकायहरूको प्राथमिकता, जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास र बजेट परिचालनका विषयमा छलफल भएको थियो । सभापति चौधरीले क्षेत्रीय निर्देशकहरूबाट प्राप्त सुझाव र स्थलगत अनुसन्धानबाट देखिएका निष्कर्षका आधारमा कृषि अनुसन्धान प्रणालीलाई पुनर्संरचना गरिने जानकारी दिए ।
छलफलका क्रममा सभापति चौधरीले अनुसन्धान कार्य केवल कागजी प्रक्रियामा सीमित नभई किसानको आवश्यकतासँग जोडिनुपर्नेमा जोड दिए ।
चौधरीले भने, ‘हामीले अनुसन्धान नतिजाको उपयोग र प्रविधि हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । आजको बैठकबाट आएका सुझावहरूलाई आत्मसात गर्दै मन्त्रालयलाई समेत आवश्यक नीतिगत निर्देशन दिने तयारी भइरहेको छ ।’
बैठकमा सहभागी सदस्यहरूले अन्तरसंस्थागत सहकार्यको अभावमा अनुसन्धानले अपेक्षित गति लिन नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए । उनीहरूले स्रोत र साधनको सही परिचालन तथा जनशक्तिको क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने माग राखेका थिए ।
समितिले नार्कलाई अनुसन्धानको दायरा फराकिलो बनाउन र स्थानीय तहका कृषि समस्या समाधानमा केन्द्रित हुन निर्देशन दिएको छ ।
