राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेका युवालाई न्यायको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्। उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको माग गर्दै झापामा जेनजी आन्दोलनका घाइतेहरू ६ दिनदेखि आमरण अनसनमा बसेको उल्लेख गर्दै उनले उनीहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे।
एउटै आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने तर बाँचेकामाथि मुद्दा चलाउनु उचित नहुने उनले बताए। उनका अनुसार गत वर्षको भदौ अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने १ सय ८ जना घाइते भएका थिए। घाइतेमध्ये ४३ जनाले मात्र परिचयपत्र पाएको उनले बताए।
जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरी मुद्दा लागेका युवालाई सरकारले आवश्यक सहयोग र संरक्षण दिनुपर्ने उनको माग छ।
उनले भने, ‘जेनजी आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको माग राख्दै ६ दिनदेखि झापामा अनसन सुरु गरेका छन्। पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भीर घाइते भएका जेनजी युवाहरू परिचयपत्रको व्यवस्था र निःशुल्क शिक्षालगायतका माग राखी आमरण अनसनमा बसेका हुन्। झापामा जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर गोपाल सेढाईं र दिनेश राजवंशीको निधन भएको थियो। १ सय ८ जना घाइते भएका थिए। घाइतेमध्ये ४३ जनाले मात्र परिचयपत्र पाएका छन्।’
उनले प्रश्न गरे, ‘एउटै आन्दोलनमा निधन भएकाहरू शहीद अनि बाँचेकाहरू अपराधी कसरी हुन सक्छन्? जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेर मुद्दा लागेका युवाहरूलाई ढाडस दिन सरकारले किन सकिरहेको छैन? म सरकारलाई सोध्न चाहन्छु, जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेकाहरूले न्याय पाउँछन् कि पाउँदैनन्?’
जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेकाहरूले न्याय पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नसमेत उनले सरकारसमक्ष गरेका छन्।
