सांसदहरूले मुलुकको पछिल्लो आर्थिक अवस्था, कूटनीतिक कमजोरी र सामाजिक सुरक्षाका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले महँगीको मार, विद्युतीय सवारीसाधनको सुरक्षा, पत्रकारमाथिको आक्रमण र दलित समुदायको बजेट कटौतीलगायतका मुद्दामा सरकारसँग स्पष्ट जवाफ मागेका हुन्।
सांसद मिना सिंह रखालले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले गरिब र मजदुर वर्गको भान्सा प्रभावित भएको भन्दै सरकारको आलोचना गरिन्। उनले चाडपर्वको मुखमा ग्यास र खाद्यान्नको कृत्रिम अभाव तथा महँगी नियन्त्रण गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरिन्।
सांसद रामकुमारी झाँक्रीले विद्युतीय सवारीसाधनको प्रयोग र सुरक्षाको विषयमा प्रश्न उठाइन्। उनले सरकारलाई ईभीको गुणस्तर परीक्षण र स्पष्ट कानुन ल्याउन माग गरिन्।
उनले भनिन्, ‘नीतिगत मापदण्डबिना नै धेरै संख्यामा विद्युतीय गाडी भित्र्याइएको छ, जसका कारण ब्याट्री व्यवस्थापन र सुरक्षामा जोखिम बढेको छ।’
सांसद रेखाकुमारी झाले रौतहटमा पत्रकारमाथि भएको कुटपिटको निन्दा गर्दै दोषीलाई कारबाही गर्न र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद सोमनाथ पोर्तेलले दलित समुदायको परम्परागत पेसा प्रवर्द्धनका लागि छुट्याइएको बजेट वर्तमान सरकारले रकमान्तर गरी फ्रिज गरेको भन्दै चर्को विरोध गरे।
सांसद रोशनी मेचेले अर्थमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा प्रयोग नभएको भन्दै कूटनीतिक मर्यादाको विषयमा सरकारसँग स्पष्टीकरण माग गरिन्।
सांसद सम्झना देवकोटाले ग्यास सिलिन्डरको लेबलिङ र साटफेरमा भइरहेको ठगी रोक्न वैज्ञानिक र सहज व्यवस्था गर्न अनुरोध गरिन्।
