सुनसरी — प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित जंगल क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले बा २ च ९५७३ नम्बरको एम्बुलेन्सबाट करिब ४५० किलो गाँजा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मंगलबार राति करिब ११ः३० बजे पानीपिया जंगल आसपासमा उक्त एम्बुलेन्सलाई जाँचका लागि रोक्न खोजिएको थियो। प्रहरीको संकेतपछि चालकले एम्बुलेन्स तीव्र गतिमा अघि बढाएपछि प्रहरीले पछ्याएको थियो। केही समयपछि चालकले एम्बुलेन्स छाडेर फरार भएको प्रहरीले जनाएको छ।
एम्बुलेन्सभित्र प्लास्टिकका पोका बनाएर राखिएको अवस्थामा गाँजा भेटिएको थियो। बरामद गरिएको एम्बुलेन्स र गाँजा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उक्त एम्बुलेन्स त्रिवेणी सांस्कृतिक समूहको नाममा रहेको बताइएको छ। एम्बुलेन्सबाट गाँजा बरामद भएको यो पहिलो घटना भने होइन। पछिल्ला केही महिनामा कोशी प्रदेशका विभिन्न स्थानमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओसारपसार गरिएका घटना सार्वजनिक भएका छन्।
गत २९ वैशाखमा धरानमा को १ च ७३५९ नम्बरको एम्बुलेन्सबाट ४४९ किलो गाँजा बरामद भएको थियो। त्यसैगरी २१ वैशाखमा सुनसरीको बराहक्षेत्र–२, पुलठ्ठे गैडाबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लुकाएर राखिएको १४८ किलो गाँजा प्रहरीले फेला पारेको थियो।
यसअघि १३ पुस २०८२ मा बेलबारी र केराबारी क्षेत्रको संयुक्त प्रहरी टोलीले केराबारी गाउँपालिका–५ मा प्र १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद गरेको थियो। प्रहरीलाई देखेपछि चालकले एम्बुलेन्स भगाएपछि प्रहरीले हवाई फायरसमेत गरेको जनाएको थियो।
त्यस्तै, २७ पुस २०८२ मा साँगुरीगढी गाउँपालिका–६ स्थित कोशी राजमार्गमा रोकिराखेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्सबाट ४५१ किलो गाँजा बरामद भएको थियो। गत १९ कात्तिकमा जहदा गाउँपालिका–३ बाट स १ च ६५६ नम्बरको एम्बुलेन्समा रहेको ३३ किलो ६१० ग्राम गाँजा पनि प्रहरीले बरामद गरेको थियो।
कोशीमा तीन आर्थिक वर्षमै ६४ हजार किलोभन्दा बढी बरामद
प्रहरीको उपलब्ध तथ्यांकअनुसार कोशी प्रदेशमा पछिल्ला आर्थिक वर्षहरूमा गाँजा बरामद हुने क्रम उल्लेख्य रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४२० किलो गाँजा बरामद भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा बरामद मात्रा बढेर २६ हजार ७०५ किलो पुगेको थियो भने २०८२/८३ मा २७ हजार ६७१ किलो गाँजा बरामद भएको प्रहरी तथ्यांकमा उल्लेख छ।
यी तीन आर्थिक वर्षको तथ्यांक मात्रै जोड्दा कोशी प्रदेशमा ६४ हजार ७९६ किलो गाँजा बरामद भएको देखिन्छ। प्रहरीले पछिल्ला पाँच आर्थिक वर्षमा भने कुल बरामद मात्रा ७२ हजार किलोभन्दा बढी रहेको जनाएको छ।
