काठमाडौं — सरकारले आगामी दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्था निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले चाडपर्वका बेला यात्रुको सहजता र यातायात व्यवस्थापनलाई ध्यानमा राख्दै व्यवसायी तथा सम्बन्धित निकायलाई विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।
विभागले जारी गरेको १५ बुँदे निर्णयअनुसार सार्वजनिक यातायात व्यवसायीले सम्भव भएसम्म अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाउनुपर्नेछ। साथै, यात्रुको पहिचान खुल्ने विवरण उल्लेख भएको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि, अग्रिम टिकट बुकिङ सुरु हुने मिति भने विभागले अहिलेसम्म सार्वजनिक गरेको छैन।
अनधिकृत टिकट काउन्टरमा निगरानी
विभागले टिकट बिक्रीमा संलग्न कर्मचारीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गर्न व्यवसायी तथा यातायात कम्पनीलाई निर्देशन दिएको छ। परिचयपत्र वा तोकिएको पोशाकबिनाका व्यक्तिले टिकट बिक्री गर्ने तथा अनधिकृत स्थानबाट काउन्टर सञ्चालन गर्ने गतिविधिलाई नियन्त्रण गर्नसमेत भनिएको छ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले टिकट बिक्रीदेखि सवारी सञ्चालनसम्मका गतिविधिलाई व्यवस्थित बनाउन विभागले व्यवसायीलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।
सडकदेखि चालकको निगरानीसम्म
चाडपर्वमा यात्रुको आवागमन बढ्ने भएकाले सडक मर्मत तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्न विभागले सम्बन्धित निकायलाई भनेको छ। ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने, सवारी साधनको नियमित अनुगमन गर्ने तथा चालकको मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) परीक्षणमा कडाइ गर्न पनि निर्देशन दिइएको छ।
लामो दूरीका सवारीमा आवश्यकताअनुसार दुई चालकको व्यवस्था गर्नुपर्ने तथा सार्वजनिक यातायात सञ्चालनको क्रममा नियमित अनुगमन बढाउने व्यवस्था पनि विभागको निर्णयमा समेटिएको छ।
चाडपर्वमा हुने यात्राको चापलाई व्यवस्थित गर्दै सुरक्षित र सहज यातायात सेवा उपलब्ध गराउने उद्देश्यले विभागले व्यवसायी, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायबीच समन्वयमा काम गर्नुपर्नेमा जोड दिएको छ।
